अब अरुलाई ठूलो बनाउन लाग्दैनाै, जनताको बलमा एक्लै बहुमत ल्याउँछौं : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र एमालेसँग सहकार्य गर्दा चुनावमा माओवादी ठूलो हुन नसकेको बताएका छन् । ‘जनतासँग माओवादी, तराई मधेस अभियान’को सोमबार झापामा सुरुवात कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन् ।
‘अब हामी आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौँ । माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने एउटा हल्ला, एउटा दुष्प्रचार गरिएको थियो,’ प्रचण्डले भने, ‘हाम्रो पार्टीले भन्यो हामीले सहकार्य गरेर हामी ठूलो भएनौँ ।’ कांग्रेससँग सहकार्य गर्दा होस् वा एमालेसँग सहकार्य गर्दा माओवादी दुवै अवस्थामा ठूलो हुन नसकेको उनले बताए । ‘बरु हामीले जो सँग सहकार्य गर्यौं त्यही पार्टी ठूलो भयो । कहिले कांग्रेस ठूलो भयो, कहिले एमाले ठूलो भयो,’ उनले भने ।
माओवादी जति बेला सहकार्यमा थिएन त्यति बेलै ठूलो पार्टी रहेको अध्यक्ष प्रचण्डले स्मरण गरे । उनले भने, ‘हामी जति बेला तिमीहरूसँग सहकार्यमा थिएनौं, हामी सबैभन्दा ठूलो थियौं यो देशको ।’ त्यस कारण यस पटक संकल्प गरेर आफ्नै खुट्टामा उभिएर आफ्नै जनताको बलमा चुनाव लड्ने तयारी गरेको उनले बताए ।