कांग्रेस नगर सभापति कलौनीको हत्या भएको दावी : भेटिएन मोवाइल र पर्सको पैसा
कञ्चनपुर । नेपाली कांग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनीको मृत्यु प्रकरणमा गृहमन्त्री रमेश लेखकले परिवार, स्थानीय नेता–कार्यकर्ता र प्रशासनसँग जानकारी लिएका छन् । कलौनी परिवारले उनको हत्या गरिएको दाबी गरेका छन् ।
नगर सभापति कलौनीको शव हिजो बिहान भीमदत्त नगरपालिका–१८ स्थित वडा कार्यालय नजिकैको सडकपेटीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । शुक्रबार साँझ धनगढीबाट फर्किने क्रममा घरतर्फ लागेका कनौलीको शव भोलिपल्ट भेटिएको थियो । शव फेला परेलगतै घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान थालेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।
घटनाका विषयमा प्रहरीले हिजो बिहानैदेखि तालिमप्राप्त कुकुर परिचालन गरी अनुसन्धान सुरु गरेको छ । यद्यपि, अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन । प्रहरीले घटनास्थल र आसपासका क्षेत्रका सिसिटिभी फुटेजको अध्ययन समेत गरिरहेको जनाएको छ । कलौनीको साथमा रहेका दुई मोबाइलमध्ये घटनास्थलमा किप्याड मोबाइल नभेटिनु र खल्तीमा भएको पर्स सडकमा फेला पर्नु र त्यसमा पैसा नभेटिनुले मृत्यु शङ्कास्पद रहेको प्रहरीले बताएको छ ।
कलौनीको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । शवको परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्जबाट फरेन्सिक विज्ञहरू महेन्द्रनगर पुगेका छन् । नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्री भइसकेका कलौनी हाल नेपाली कांग्रेसको भीमदत्त नगर सभापति र महेन्द्रनगरस्थित वैजनाथ नमूना माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष पनि थिए ।