नवलपुरको अमलटारीबाट पोथी गैँडा स्थानान्तरण


१३:४० बजे

नवलपुर  । एकसिङ्गे गैंडाको आन्तरिक स्थानान्तरणको काम सुरु गरेको चितवन राष्ट्रिय निकुञ्जले एउटा पोथी गैँडा स्थानान्तरण गरेको छ । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मागरका अनुबार शनिबार अपराह्न निकुञ्जको पश्चिम क्षेत्र नवलपुर क्षेत्रबाट एउटा पोथी गैँडा पूर्वी क्षेत्रमा लगिएको हो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनबाट करिब १५ वर्षीय वयस्क पोथी गैँडालाई डार्ट गरेर पूर्वी क्षेत्रमा लगिएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको संख्या बढी भएपछि यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको उनले बताए । 

सन् २०२२ मा गैँडाको आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि निकुञ्जले गत वर्ष छवटा गैँडा स्थानान्तरण गरेको थियो । अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैँडा स्थानान्तरण गर्न सुझाव दिएको आधारमा यस पटक थप चार गैँडा स्थानान्तरण गर्न लागिएको हो । गैँडा स्थानान्तरणका लागि प्राविधिक टोलीले नवलपुरमा पर्ने निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट गैँडा स्थानान्तरणको काम सुरु गरेको हो । 

निकुञ्जको हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेनालगायतको जनशक्ति प्रयोग गरेर गैँडा स्थानान्तरणको काम सुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिए । निकुञ्जले दुई भाले र दुईवटा पोथी गैँडा स्थानान्तरण गर्ने तयारी गरेकामा अब एउटा पोथी र दुई भाले गैँडा स्थानान्तरण गरिने उनले बताए । निकुञ्जको नवलपुर क्षेत्रबाट लगिएका गैँडालाई पूर्वी क्षेत्रको खगेन्द्रमल्ली र प्यारीढाप क्षेत्रमा छोडिने  संरक्षण अधिकृत डा. पन्तले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७