कांग्रेस संसदीय दलको वैठक बस्दै
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक आज (शुक्रबार) बस्दै छ । आजबाट सुरु हुने हिउँदे अधिवेशनका बारेमा छलफल गर्न बिहान ९ बजे बैठक बस्न लागेको हो । तीन जना बाहेक कांग्रेसका सबै सांसद सरकारले ल्याएको अध्यादेशको विपक्षमा रहेपछि उनीहरूलाई विरोधमा नबोल्न आग्रह गर्न संसदीय दलको बैठक बोलाइएको छ ।
प्रतिमा गौतम, कुशुम थापा र वीरबहादुर बलायर बाहेकका कांग्रेस सांसद् अध्यादेशको विपक्षमा छन् । सत्तारुढ दलकै सांसद अध्यादेशको विपक्षमा रहेपछि शीर्ष नेतृत्व उनीहरूलाई मौन रहन आग्रह गर्दै आएको छ । संसद् बैठक आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । यसअघि बसेको दलको बैठकमा बोल्न बाँकी सांसदहरुले आज धारणा राखिसकेपछि मन्त्रीहरुले जवाफ दिनेछन् । मन्त्रीहरुले आफूले गरेका कामबारे सांसदहरुलाई जानकारी पनि गराउने छन् ।
संसदीय दलको बैठकमा यसअघि २० सांसदले बोलिसकेका छन् । साथै, अध्यादेशको अन्तरवस्तुबारे महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखकले सांसदहरुलाई जानकारी गराइसकेका छन् । कानुन सुधार सुझाव कार्यदलका तीन सदस्यले कानुनमा रहेका व्यवस्था र सुधार गर्नुपरेका कारणहरू पनि सुनाएका थिए ।