समस्याग्रस्त सुमेरु सहकारीको तीन शाखा शिल


२०८१ माघ १० बिहीबार ००:३९ बजे

काठमाडौं । बागमती प्रदेश सरकारले ललितपुरमा रहेको सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको तीन कार्यालयमा शिलबन्दी गरेको छ । गत २८ पुसमा समस्याग्रस्त घोषणा गरिएको उक्त सहकारीमा बिहीबार समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय काठमाडौंको टोलीले ताला लगाएको हो ।

टोलीले सुमेरु सहकारीको पुलचोकस्थित मुख्य कार्यालयसहित दुई शाखामा तालाबन्दी गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय काठमाडौंका प्रमुख महेश आचार्यले जानकारी दिए । उनका अनुसार प्रधान कार्यालयसहित धापाखेल र गठ्ठाघरको शाखा कार्यालयमा तालाबन्दी गरिएको हो ।

टोलीले सहकारीको आवश्यक कागजपत्र र कम्युटरका हार्ड डिक्स सिज गरेको उनको भनाइ छ । सो सहकारीको गत ८ माघमा नै खाता रोक्का गरिएको थियो । सहकारीको व्यवस्थापनका लागि छिट्टै थप प्रक्रिया अघि बढाइने उको भनाइ छ । सहकारीका सञ्चालकहरूसँग छलफल गरी सम्बन्धित सबैको खाता रोक्का गरिने प्रमुख आचार्यले जानकारी दिएका छन् । 

एउटै नामका तीन सहकारी देखिएको र उक्त विषय मिलाउन पर्ने भएकाले सुमेरु सहकारीमा तालाबन्दी गर्न समय लागेको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयका प्रमुख आचार्यले बताए । उनका अनुसार काठमाडौं, ललितपुर र काभ्रेमा समेत सुमेरु सहकारी रहेका तथा ललितपुर र काठमाडौंको सुमेरु सहकारीले एकीकरणको सम्झौता समेत गरेकाले तालाबन्दी गर्न समस्या भएको हो ।

गत बुधबार मात्र समस्याग्रस्त सुमेरु सहकारीको विवाद समाधान गरी तालाबन्दी गर्ने र आवश्यक कागजात तथा सिस्टम सिज गर्ने निर्देशन प्राप्त भएको प्रमुख आचार्यले बताए । सोहीअनुसार सुमरु सहकारीका तीन वटा कार्यायमा तालाबन्दी गरिएको बताए । एकीकरणको सहमति भए पनि कारोबारको विवरणमा संलग्नता नरहेकाले काठमाडौंको सुमेरु सहकारीमा तत्काल तालाबन्दी नगरिएको उनको भनाइ छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७