सर्वोच्चले कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवाको पुनरावलोकन गर्ने
काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने आफ्नो फैसलालाई सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भएको छ । न्यायाधीशहरू सपना मल्ल प्रधान, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले फैसला पुनरावलोकन हुनुपर्ने मागसहितको निवेदनलाई ‘निस्सा दिने’ आदेश गरेको हो ।
फैसला पुनरावलोकनको निवेदनमा ‘निस्सा हुने’ आदेश भएपछि पुरानो फैसलामाथि सर्वोच्च अदालतमा फेरि सुनुवाइ हुन्छ । तीन सदस्यीय न्यायधीशको पूर्ण इजलासले यसअघिको संयुक्त इजलासले गरेको फैसलाको न्यायिक परिक्षण गर्नेछ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सांसद गुरूङको निलम्बन फुकुवा गरी संसद प्रवेशको बाटो खोल्ने सर्वोच्चकै फैसलाविरूद्ध पुनरावलोकनका लागि निवेदन दिएको थियो ।
सर्वोच्चका न्यायाधीशद्वय मनोज शर्मा र विनोद शर्माको इजलासले २०८० साल चैत १६ गते गुरूङको निलम्बन फुकुवा गरी संसद प्रवेश गर्ने बाटो खोलिदिएको थियो । मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङलाई २०७९ पुस १२ गते अख्तियारको पत्रद्वारा सांसद पदबाट निलम्बत थिए । निलम्बनविरूद्ध गुरूङले २०८० फागुन २१ गते रिट दायर गरेका थिए ।