लेखा समिति सभापति पोखरेलको श्रीमतीपछि पूर्व ‘पिए’ पनि धरौटीमा छुटे


२०८१ माघ १० बिहीबार २२:३२ बजे

मोरङ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव (पिए) अनिलकुमार पोखरेल धरौटीमा रिहा भएका छन् । ठगी आरोपमा मुद्दा चलाइएका अनिललाई थुनछेक बहसपछि मोरङ जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले आज (बिहीबार) पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनले आजै धरौटी बापतको रकम बुझाएर थुनामुक्त भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले ठगी मुद्दामा जिल्ला अदालत मोरङमा बुधबार पोखरेलविरुद्ध मुद्दा दायर गरेको थियो ।  सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) द्वारा निषेधित ऐनको उपदफा (२) बमोजिमको कसुर अपराध गरेकाले ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवानाको माग दाबी लिएर अभियोग दर्ता गरेको थियो । 

ठगी आरोपमा प्रहरीले उनलाई २५ पुसमा पक्राउ गरेको थियो । पक्राउ परेको १२ दिनमै अनुसन्धान टुंग्याएर प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) सरकारी वकिल कार्यालयमा मंगलबार बुझाएको थियो । पोखरेलले छोरीलाई एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रूपैयाँ लिएको आरोप थियो । मोरङको रंगेली नगरपालिका–२ घर भई काठमाडौंमा बस्दै आएका ४३ वर्षीय पोखरेल एमाले मोरङका जिल्ला सदस्य पनि  हुन् । 

पार्टीको कोटामा एमबीबीएस भर्ना गरिदिने भन्दै बौआलालसँग २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० रूपैयाँ लिएको बौआलालले बताएका छन् । मोरङको रङ्गेली नगरपालिका–२ घर भई काठमाडौंमा बस्दै आएका ४३ वर्षीय अनिल नेकपा (एमाले) मोरङका जिल्ला सदस्य हुन् । पार्टीको कोटामा एमबीबीएस भर्ना गरिदिने भन्दै  बौआलालसँग २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० रूपैयाँ लिएका थिए । एबीबीबीएसमा छोरीको नाम निकालिदिने आश्वासन दिएपछि पैसा बुझाएको बौआलालको भनाइ छ । तर, छोरीको नाम ननिस्किएपछि पैसा फिर्ता माग्दा उल्टै धम्की दिएको उनले बताए । अनिलले उल्टै आफूसँग जबर्जस्ती ५० लाख रूपैयाँ ऋण लिएको कागज बनाएको बौआलालले बताएका छन् । 

बौआलालले आफू ठगीमा परेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । तर, प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि हुलाकमार्फत जाहेरी पठाएर उनले उच्च अदालत विराटनगरमा पनि रिट दायर गरेका थिए । उच्च अदालतले अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो । अनिल ठगी प्रकरणमा मुछिएपछि लेखा समिति सभापति पोखरेलले उनलाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाएका थिए । यसअघि सभापति पोखरेलकी श्रीमती अञ्जला पनि सहकारी ठगी प्रकरणमा धरौटीमा छुटेकी थिइन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७