मधेस सरकारको ‘भाषा विधेयक’ मा सत्तारुढ सांसदकै विरोध, वैठक स्थगित
जनकपुर । मधेस प्रदेश सभामा पेस भएको सरकारी कामजकाज भाषासम्बन्धी विधेयक सच्याउन सांसदहरूले माग गरेका छन् । सरकारी कामकाजी भाषा विधेयक २०८१ बुधबारको प्रदेश सभामा पेस भएको थियो । विधेयकमा नेपाली भाषाका अतरिक्त अंग्रेजी, हिन्दीलगायत भाषाहरूसमेत समावेश गरे पनि थारू भाषा छुटाइएको भन्दै सांसदहरूले विधेयक सच्याउनु पर्ने माग राखेका हुन् ।
विधेयक फिर्ता लिन मुख्य्मन्त्री सतिश सिंह तयार भइरहेको संकेत आफूले पाएको सभामुख रामचन्द्र मण्डलले बिहीबारको प्रदेश सभा बैठकमै सुनाएका थिए । तर सांसदहरूले विधेयक फिर्ताको माग राखेपछि १० मिनेटका लागि बैठक स्थगित भएको छ । मधेस प्रदेशको कामकाजीको भाषा विधेयक २०८१ हचुवाको भरमा ल्याएको भन्दै प्रदेशसभा बैठकमा सत्तारुढ दलकै सांसदहरुले समेत विरोध गरेपछि सभामुखले बैठक स्थगित गर्नु परेको हो ।
सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै सांसदहरु भाषा सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने माग गरे । सत्तारुढ नेकपा एमाले, जनमत पार्टी र कांग्रेसका सांसदहरु नै भाषा सम्बन्धी विधेयक त्रुटीपूर्ण रहेको बताएका छन् । सत्तारुढ दलहरु र प्रतिपक्षी दल जसपा नेपाल र नेकपा माओवादी केन्द्रका सांसदहरुले उक्त विधेयक फिर्ता नलिए सदन चल्न नदिने चेतावनी दिए ।