परराष्ट्रमन्त्रीद्वारा अमेरिकी विदेशमन्त्रीलाई बधाई
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राज्य अमेरिकाको ७२ औं विदेशमन्त्रीमा मार्को रुबियो नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेकी छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले नवनियुक्त आफ्ना अमेरिकी समकक्षी रुबियोप्रति बधाई ज्ञापन गरेकी हुन् ।
परराष्ट्रमन्त्री देउवाले बधाई ज्ञापन गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन विदेशमन्त्री रुबियोसँग सहकार्य गर्न आफू तत्पर रहेको एक्समा उल्लेख गरेकी छन् । नव नियुक्त अमेरिकी विदेशमन्त्री रुबियो फ्लोरिडाका राज्यसभा सदस्य हुन् ।
५३ वर्षीय उनको नियुक्तिको प्रस्तावलाई सिनेटले ९९ मतले अनुमोदन गरेको हो । उनलाई विदेशमन्त्री नियुक्ति गर्नेसम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको प्रस्तावको विपक्षमा एक मत पनि नपरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।