मनाङमा यस वर्षको पहिलो हिमपात


२०८१ पौष २९ सोमबार १५:२५ बजे
फाइल फोटो

मनाङ ।  हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यतिबेला खुशी भएका छन् । चिसो अत्यधिक बढे पनि यहाँ हिमपात हुन सकेको थिएन । विगतका वर्षमा मंसिरदेखि हिउँ पर्ने भए पनि यसवर्ष पुसको अन्तिम सातामा मात्रै हिउँ परेको छ । हिमपात भएपछि यहाँका कालापत्थरमा परिणत हुन लागेका डाँडाकाँडामा हिउँले भरिएको ङिस्याङ गाउँपालिका–१ पिसाङका किसान मुखिया गुरुङले सुनाए ।

ढिला गरी हिउँ पर्दा खुशी लागेको गुरुङले बताए । उनले भने, ‘भारी हिमपात नभए पनि सुरुआत भएको छ, यसले केही आशा जगाएको छ ।’ आफूले गरेको कृषिजन्य उत्पादनले दुई महिना मात्रै खान पुग्ने उल्लेख गर्दै उनले हिउँ पर्दा खुशी लागेको बताए । हिउँ परेपछि जमिन तथा मल भिजेर रसिलो हुने र बालीनाली सप्रने उनको भनाइ छ । 

किसानका अनुसार हिउँ परेपछि बहुमूल्य जडीबुटी यार्सागुम्बा, निरमंसी, पाँचऔँले, चिराइतोलगायतको उत्पादन बढ्छ भने तल्लो भागमा परेको हिउँले खेतीपातीका लागि मलकै रुपमा काम गर्दछ । दुई हप्ताअघि मात्र सिँचाइ गरेका मनाङ चामेका किसान शेराप विष्टले हिमपातले खुशीयाली ल्याएको बताए ।

नासो गाउँपालिका–८  ताचैका यज्ञ घलेले हिमाली क्षेत्रमा हिउँ नपर्दा पर्यटन व्यवसाय प्रभावित भएको बताए । उनले भने, ‘कलकारखाना नभएको हिमाली जिल्लामा हिउँ नै नहुँदा पर्यटक के हेर्ने आउने ? प्राकृतिक सुन्दरता नै गुम्न थालेको थियो ।’ उनका अनुसार हिउँ पर्दा पर्यटक बढ्छन् । हिमाली सौन्दर्य रहिरहन्छ ।जलवायु परिवर्तनले समयमा हिमपात नहुँदा मनाङका हिमाल कालापत्थर बन्दै गएका छन् ।

अन्नपूर्ण, गङ्गापूर्ण, लमजुङलगायतका हिमालका आधाभन्दा बढी भाग कालापत्थरमा रुपान्तरण भइसकेका छन् । जिल्लाको माथिल्लो क्षेत्रमा केही मात्रामा फाट्टफुट्ट हिमपात भए तल्लो क्षेत्रमा अहिलेसम्म हिउँ पर्ने सङ्केत नदेखिएको नासों गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले बताए । हिमपात नहुँदा चिस्यान नहुने, आलु, उवा र फापर छर्ने ठाउँमा जोत्न पनि मुस्किल भएको उनले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७