चिकित्सकको तलव दुई लाख ५० हजारसम्म पुर्याउन अध्ययन समितिको सुझाव
काठमाडौं । चिकित्सकलगायत सम्पूर्ण स्वास्थ्यकर्मीको सेवा सुविधामा न्यूनतम सरकारी सरह एकरूपता कायम गर्नेलगायत तत्काल सुधार गर्नुपर्ने विषयमा अध्ययन गर्न बनेको समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको छ । एमबीबीएस-बीडीएस चिकित्सकको हकमा एक लाखदेखि एक लाख २५ हजार मासिक आय सुनिश्चित गर्न सिफारिस सुझाव दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. टंक बाह्राकोटी नेतृत्वको समितिले यस्तो सिफारिस गरेको हो ।
एमडीएमएस गरेकाहरुको एक लाख ५० हजारदेखि एक लाख ७५ हजार र डीएम-एमसीएच गरेका चिकित्सकको दुई लाख २५ हजारदेखि दुई लाख ५० हजारसम्म दिन सुझाव दिइएको छ । प्रत्येक तहमा सेवा अनुभवको अवधिका आधारमा आय वृद्धि हुने व्यवस्था गर्न पनि भनिएको छ । जसका लागि विभिन्न भत्ता सिफारिस गरिएको छ ।
एमडीएमएस गरेका चिकित्सकलाई ७५–१०० र डीएम-एमसीएच गरेका चिकित्सकलाई १००–१५० प्रतिशत विशेषज्ञ भत्ता प्रदान गर्न सिफारिस गरेको छ । यस्तै एमबीबीएस -बीडीएसलाई ५० देखि ७५ प्रतिशत, एमडी-एमएसलाई ७५–१०० प्रतिशत र डीएम-एमसीएचलाई १००–१५० प्रतिशत नन–प्रयाक्टिसिङ अलाउन्स प्रदान गर्न सुझाव दिइएको छ ।
यी सुविधा निर्धारण गर्दा भूगोल (सुगम,दुर्गम, अति–दुर्गम ) तथा सेवा अवधिका आधारमा वृद्धि हुने व्यवस्था गर्न भनिएको छ । नेपालभरी चिकित्सकलाई विभिन्न नाममा दिइने भत्ताहरुको समायोजन गरी ती व्यवस्थाहरुलाई एकरूपता दिँदै यस प्रतिवेदनले सुझाएका जोखिम, नन–प्रयाक्टिसिङ अलाउन्स तथा विशेषज्ञ चिकित्सक भत्ता समायोजन गरी न्यूनतम मासिक पारिश्रमिक दिन भनिएको छ ।