आजको शक्तिशाली भूकम्पबाट नेपालमा क्षति भयो कि भएन ?
काठमाडौं । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर गएकाे सात रेक्टर स्केलको भूकम्पले त्रसित बनाउने गरी हल्लाएको छ । बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दिङ्गे काउन्टी दक्षिण नेपालको संखुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।
भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए ।
केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए । केन्द्रले छदेखि आठ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलव ८ रेक्टर स्केलको गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । केही समयदेखि पश्चिम नेपालमा निरन्तर स–साना भूकम्प गइरहेको छ ।
नेपालमा शक्तिशाली धक्का दिएको भूकम्पले क्षति पुर्याए-नपुर्याएकोबारे विवरण संकलनको काम भइरहेको अधिकारीहरुले बताएका छन् । नेपालका नजिकका जिल्ला सोलुखुम्बु, संखुवासभा, दोलखा र ताप्लेजुङ पर्दछन् । ती जिल्लाका प्रहरी अधिकृतहरुले भूकम्पको कडा धक्का महसुस भएको र क्षति भए÷नभएकोबारे बुझ्ने काम भइरहेको बताइएको छ । प्रहरी रहेको स्थानमा बुझ्दा अहिलेसम्म क्षतिको विवरण भने नआएको उनीहरुले बताएका छन् ।
संखुवासभाका प्रहरी प्रमुख दक्ष कुमार बस्नेतले जिल्लामा अहिलेसम्म क्षतिको विवरण प्राप्त नभएको जानकारी दिएका छन् । सूचनाको पहुँच भएको क्षेत्रसम्म बुझ्दा क्षतिको जानकारी नभएको उनले बताए । ‘जिल्लामा सञ्चार सम्पर्क नहुने क्षेत्र पनि छन्, ती क्षेत्रको अवस्थाको जानकारी त छैन, तर जहाँ–जहाँ सम्पर्क भएको छ, त्यहाँ भने क्षतिको विवरण छैन,’ डिएसपी बस्नेतले भने ।
यस्तै दोलखा प्रहरीका प्रवक्ता दाताराम अधिकारीले पनि क्षतिको विवरण प्राप्त नभएको बताए । उनका अनुसार दोलखामा च्छोरोल्पा हिमताल र लामाबगर अति जोखिमयुक्त क्षेत्र मानिन्छन् । ती स्थानमा अहिलेसम्म भूकम्पले क्षति भएको जानकारी नआएको अधिकारीले बताए । ‘च्छोरोल्पा हिमताल फुट्ने र लामाबगर क्षेत्रमा सुक्खा पहिरो खस्ने जोखिम रहन्छ । तर प्रहरी फौज भएको स्थानसम्म बुझ्दा अहिलेसम्म क्षतिको जानकारी छैन,’ अधिकारीले भने ।
नेपाल–चीन सीमा क्षेत्रमा रहेका हिमतालहरु जोखिमयुक्त मानिन्छन् । यदि ती विष्फोट भएमा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुग्ने विज्ञहरु बताउँछन् । त्यस्ता सम्भावित जोखिमका क्षेत्रमा थप सूचना संकलन र अलर्ट रहन मातहतका प्रहरीलाई भनिएको प्रहरी प्रवक्ता अधिकारीले बताए । सोलुखुम्बुका प्रहरीका प्रवक्ता लक्ष्मण गिरीले अहिलेसम्म क्षतिको विवरण प्राप्त नभएको जानकारी दिए । ‘बुझ्ने काम जारी छ, तर अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन,’ उनले भने ।