साफ्टाको सदस्यबाट नेपाल बाहिरिनु पर्छ : पूर्व अर्थमन्त्री महत
काठमाडौं । पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) को सदस्य राष्ट्रको रूपमा नेपाल बाहिर निस्कनु पर्ने बताएका छन् । आइतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा भएको भन्सार ऐनका विषयमा सरोकारवाला निकायहरूसँगको छलफलमा बोल्दै पूर्व अर्थमन्त्री महतले साफ्टाको सम्झौता सदस्य राष्ट्रहरूमा नै बढ्दो बेवास्ता भएकाले नेपाल बाहिर निस्कन आवश्यक रहेको बताएका हुन् ।
उनले सम्झौताको मूल मान्यता विपरीत अन्य राष्ट्रले सहमति नमान्ने तर नेपालले मात्रै मान्नुपर्ने अवस्था रहेकाले बाहिर निस्कन आवश्यक रहेको बताए । उनले साफ्टामा नेपालले न्यून भन्सार वा भन्सार रहित भनेर हस्ताक्षर गरे पनि अरू देशले त्यो सहमति पालना नगरेको बताए । उनले भारत लगायत देशमा उत्पादन भएका वस्तुहरूमा छुट दिएर नेपालले मात्रै बोझ खपिरहने अवस्थामा बस्न नहुने बताए ।
यस्तै, पूर्वमन्त्री महतले नेपालले अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गर्न हौसिने प्रवृत्तिमा विचार पुर्याउनु पर्ने अवस्था आएको बताए । उनले भने, ‘साफ्टामा नेपालले न्यून भन्सार वा भन्साररहित भनेर हस्ताक्षर गर्यो । अरू देशले त्यो पालना गरेनन् । बंगलादेश लगायतले पालना गरेन । नेपालले मात्रै भारत लगायतमा उत्पादन भएका वस्तुहरूमा छुट दियौं । साफ्टाबाट नेपाल बाहिर निस्कनु पर्छ । त्यसको प्रक्रिया के छ त्यो विषयमा पनि बुझ्न आवश्यक छ । त्यसको औचित्य छैन ।’