संविधान संशोधनका विषयमा कांग्रेस स्पष्ट छ : एनपी साउद


२०८१ पौष २६ शुक्रबार १९:३१ बजे
फाइल फोटो

बाँके । सत्ता साझेदार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले जनतालाई शान्ति, सुरक्षा र समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्ने बताएका छन् । 

नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकमा समृद्धि, शान्ति र सुशासन कायम गर्ने उद्देश्यसहित संसद्का दुई ठूला दलको गठबन्धन सरकार बनेकाले सोहीअनुसार काम गर्नुपर्नेमा जोड दिए । ‘दुई ठूला दलको नेतृत्वमा बनेको सरकारले पनि काम गर्न नसके जनतामा थप निराशा आउनेछ । यसर्थ सरकारले जनमुखी काम गर्न आवश्यक छ । त्यसका लागि पार्टीबाट आवश्यक सहयोग गर्न हामी तयार छौं’, साउदले भने । 

वर्तमान सरकार गठनपछि शेयर बजारसँगै अर्थतन्त्रमा सुधारका संकेत देखिए पनि अर्थतन्त्रका समग्र चुनौती सामना गर्ने गरी प्राथमिकता निर्धारण गरेर काम गर्न उनले आग्रह गरे । पूर्वमन्त्री साउदले सरकार निर्माणताका दुई दलबीच भएको सहमतिअनुसार सबै राजनीतिक दलबीच साझा सहमतिका आधारमा संविधान संशोधन गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । ‘संविधानका कमी कमजोरी सुधार गर्न आवश्यक छ । संविधान संशोधनका विषयमा कांग्रेस स्पष्ट छ’, उनले भने, ‘यसका लागि राष्ट्रिय सहमति कायम गर्नुपर्छ ।’

नेता साउदले सरकार विकासका मुद्दामा केन्द्रित हुन नसकेको टिप्पणी पनि गरे। नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू डा. डिला सङ्ग्रौला, अब्दुल सत्तार, चम्फा खड्का, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेललगायत उपस्थित थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७