विपिन जोशीको सकुशल मुक्ति प्रयास : कतार र इजिप्टलाई मध्यस्थताका निम्ति अनुरोध


२०८१ पौष २६ शुक्रबार २२:२९ बजे

काठमाडौं । सरकारले अतिवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न कतार र इजिप्टसँग पुनः आग्रह गरेको छ ।

सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग जोशीको रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न पुनः आग्रह गरेको हो ।  हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको समाचार सार्वजनिक भएपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमाससँग मध्यस्थता गरिरहेको कतार र इजिप्ट सरकारलाई जोशीको रिहाइका निम्ति पनि प्रयत्न गर्न आग्रह गरेकी हुन् । 

नेपालका लागि इजिप्टका राजदूत नोहा हमदी अहमद एलगेबलीसँग आज मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री देउवाले इजिप्ट सरकारसमक्ष नेपालको अनुरोध कार्यान्वयनका निम्ति राजदूतमार्फत आग्रह गरेकी हुन् । आजै परराष्ट्रमन्त्रीले नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग पनि फोन सम्पर्क गरी जोशीको रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हाल कतारमा रहेका राजदूत अन्सारीले नेपालको अनुरोधबारे विदेशमन्त्रीसँग परामर्श गर्ने जानकारी दिएका थिए ।  यसअघि पनि परराष्ट्रमन्त्री देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग जोशीको रिहाइका निम्ति आग्रह गरेकी थिइन् । जोशीको रिहाइका लागि  सरकारले कूटनीतिक प्रयास जारी राखेको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७