लहडको भरमा निर्णय गर्दा १६ बढी विमानस्थल बन्द : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले परियोजनाको आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा ध्यान नदिँदा मुलुकमा १६ भन्दा बढी विमानस्थल बन्द भएको बताएका छन् ।
आज (बिहीबार) प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले लहडमा गरिएका निर्णयका कारण विमानस्थलहरूबाट अपेक्षित प्रतिफल प्राप्त नभएको टिप्पणी गरे। अध्यक्ष नेपालले कुनै पनि परियोजनामा लगानी गर्ने क्रममा त्यसको आवश्यकतामाथि गहिरो अध्ययन र प्रतिफलमाथि ध्यान दिनुपर्ने बताए । ‘हामी योजनाबिनै लहडको भरमा निर्णय गर्छौं, परियोजना तय गर्छौं, तर प्रतिफल प्राप्त हुँदैन । लगानी भनेको प्रतिफलका लागि हो, पैसा मात्र डुबाउनका लागि होइन’, उनले भने ।
अध्यक्ष नेपालले भैरहवास्थित लुम्बिनी विमानस्थल कसको दबाबमा निर्माण गरिएको हो भन्ने प्रश्न उठाउँदै, यसको हालको अवस्थाले प्रभावकारी सेवा दिन नसकेको तर्क गरे । ‘लुम्बिनी विमानस्थल जुन स्थानमा बनाइएको छ, त्यो चलायमान बन्न सक्ने अवस्था छैन भन्ने सबैले भन्छन्’, अध्यक्ष नेपालले थपे ।
उनले मुलुकमा १६ भन्दा बढी विमानस्थल बन्द रहेको जानकारी दिँदै हाल यो संख्या बढेर १८ पुगेको हुन सक्ने उल्लेख गरे । विमानस्थलहरूको वर्तमान स्थिति र उपयोगिताबारे प्रतिवेदन पेश गर्न सरकारलाई आग्रह गर्दै उनले त्रिभुवन विमानस्थलको विकल्प निजगढ विमानस्थल मात्र रहेको स्पष्ट पारे । लुम्बिनी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा उपयोग गर्न सकिने भए पनि यो काठमाडौंको विकल्प बन्न नसक्ने उनको भनाइ छ । भारतको सीमाबाट टाढा राखिएको स्थानमा प्रभावकारी विमानस्थल सञ्चालन सम्भव नहुने धारणा अध्यक्ष नेपालले व्यक्त गरे ।