दीपेन्द्रसिंह बने ओमोडाको ब्रान्ड एम्बासडर
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका उत्कृष्ट नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी ओमोडा एन्ड जेइको अटोमोबाइल्सको ब्रान्ड एम्बासडर बनेका छन् । चिनियाँ ओमोडाका लागि नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स र दीपेन्द्रबीच सोमबार सम्झौता भएको हो ।
सम्झौतामा एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा र दीपेन्द्रले हस्ताक्षर गरेका हुन् । निर्देशक शारडाले दीपेन्द्रलाई गाडीको साँचो हस्तान्तरण गरेका छन् । सम्झौताको आर्थिक पक्षबारे खुलाइएको छैन । १० दिनअघि सकिएको एनपीएलमा दीपेन्द्रले सुदूरपश्चिम रोयल्सको नेतृत्व गरेका थिए ।
लगातार उत्कृष्ट प्रदर्शन गरे पनि सुदूरपश्चिम फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । २ सय २७ रन बनाउनुका साथै ८ विकेट लिएका दीपेन्द्रले ३ क्याच लिनुका साथै ७ रनआउट गरेका थिए । फाइनलमा भने दीपेन्द्र खासै चल्न सकेका थिएनन् । उत्कृष्ट खेलाडी भएवापत दीपेन्द्रले एसपीजी अटोमोबाइल्सबाट बजारमूल्य ६२ लाख रहेको ओमोडा–ई ५ कार पाएका थिए । दीपेन्द्र अहिले ओमोडा कारकै ब्रान्ड एम्बासडर बनेका हुन् ।