३४ करोड सम्पत्ति शुद्धीकरण मुद्दामा बैंकका कर्मचारीसहित तीन जना दोषी ठहर


२०८१ पौष १५ सोमबार १८:४४ बजे

काठमाडौं ।  कृषि विकास बैंकको झण्डै ३४ करोड ठगी गरी विदेश लगेर शुद्धीकरण गर्ने तीन जना सम्पत्ति शुद्धिकरण कसुरमा पनि दोषी ठहरिएका छन् । विशेष अदालतले आइतबार  बैंकका तत्कालीन अधिकृत केदारप्रसाद गौततसहितलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि २२ पुसको पेसी तोकेको हो । 

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गत ५ चैतमा सूर्यबहादुर लिम्बु, कृष्णहरि थापा र केदारप्रसाद गौतमविरुद्ध मुद्दा चलाएको थियो । उनीहरुलाई विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले दोषी ठहर्‍याएको हो । 

तीनै जना प्रतिवादीहरुलाई यसअघि नै भ्रष्टाचार, बैंकिङ कसुर तथा सरकारी कागजात कीर्तेको मुद्दा समेत दायर भइसकेको छ । यी मुद्दामा सर्वोच्च अदालतबाट पनि सुरु सदरको फैसला भएको भन्दै विशेषले यस मुद्दामा पनि ठहर हुने फैसला गरेको हो । प्रतिवादीहरुले ३३ करोड ९३ लाख रुपैयाँभन्दा बढी सम्पत्ति कसूरबाट आर्जन गरेको र तह–तह हस्तान्तरण तथा रुपान्तर गरेको निष्कर्ष विशेषको छ । 

गौतमले आफ्नो नाम तेजबहादुर थापा राखेर कारोबार गरेका थिए । यस मुद्दामा अनुसन्धानपछि २१ भदौ ०७२ मा सरकारी वकीलले विभागमा पनि अनुसन्धानका लागि पत्राचार गरेको थियो । गौतमले थापासमेतको मिलेमतोमा योजनाबद्ध तरिकाले हुँदै नभएको व्यक्तिका नाममा खाता खोली रकम ट्रान्सफर गरेको भेटिएको थियो । यस मुद्दामा दर्जनभर प्रतिवादी भए पनि सम्पत्ति शुद्धिकरणको कसूरमा भने तीन जना प्रतिवादी कायम गरिएकोमा उनीहरुमाथि कसूर कायमको फैसला  भएको हो ।

बैंकको स्वयम्भु शाखाका कर्मचारी गौतमले २०७१ सालमा विभिन्न नक्कली खाता बनाएर बैंकको २३ करोड ९३ लाख रुपैयाँ स्थानान्तरण गरेका थिए । त्यसरी स्थानान्तरण गरिएको पैसा हुन्डीमार्फत भारत लगिएको थियो । पछि जागिर छाडेर तेजबहादुर थापाको नाममा पासपोर्ट बनाएर कान्छी श्रीमती पोर्चुगल जान खोज्ने क्रममा सिआइबीले उनलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । 

ठगी गरेको पैसा विदेश लगेर शुद्धीकरण गरेको कसुरमा छुट्टै मुद्दा दायर भएकोमा त्यसमा पनि उनी दोषी ठहर भएका हुन् । दोषी ठहर हुने कृष्णहरि थापा नामक व्यक्ति भने अझै पत्ता लागेका छैनन् । उनकै योजनामा आफूले बैंकको सिष्टममा खेलेर पैसा स्थानान्तरण गरेको गौतमको बयान थियो । भारतमा बस्ने भनिएका थापाको ठेगाना समेत प्रहरीले पत्ता लगाउन सकेको छैन । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७