महाधिवेशनका लागि दवाव बढाउनुस्, तपाईहरुमाथि अन्याय हुन दिन्न : शेखर कोइराला


२०८१ पौष १३ शनिबार १५:३१ बजे

धनुषा । सत्तारुढ नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले काठमाडौंमा बसेर मधेसका समस्या समाधान गर्न नसकिने बताएका छन् ।महोत्तरीको भटोलियामा आज (शनिबार) आयोजित कांग्रेस महोत्तरी क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले मधेसमा बेरोजगारी व्याप्त रहेको र यहाँका किसान मल, सिँचाइ तथा बजारको समस्याले प्रताडित भएको बताए ।

‘मधेस अप्ठ्यारोमा रहेको हामीले बुझेका छौं,’ उनले भने, ‘काठमाडौंमा बसेर मधेसका समस्या समाधान गर्न सकिँदैन ।’ फरक प्रसंगमा उनले पार्टीको महाधिवेशन समयमै गर्न पनि जोड दिए । ‘पार्टीको १५ औं महाधिवेशन समयमा गर्न हामीले भनेका छौं तर पार्टीका पदाधिकारीहरू सुस्त जस्तो देखिन्छन्,’ नेता कोइरालाले भने, ‘निर्वाचनको मुखमा आएर अधिवेशन गर्न सुरु गर्‍यौं भने हामीहरू फेरि कमजोर हुन सक्छौ।’

कोइरालाले कांग्रेस र एमालेले अगामी निर्वाचनमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने पनि उनले बताए । कांग्रेसको लक्ष्य आगामी निर्वाचनमा एक्लै लडेर तीनै तहमा जितेर देखाउनु पर्ने आवश्यकता रहेको पनि कोइरालाले बताएका छन् । ‘हरेक २-२ महिनामा सरकार परिवर्तन हुने र राजनीतिक स्थायित्व नहुने भएपछि एमालेसँग मिलेर सरकार गठन गर्नुपर्ने बाध्यता आइपरेको हो,’ उनले भने, ‘तर, यस सरकारले पनि जनताको अपेक्षाअनुसार काम गर्न सकेको छैन ।’

उनले १५ औं महाधिवेशन एक वर्षभित्र नहुने संकेत देखिएको भन्दै नेतृत्वलाई दबाब दिन नेता–कार्यकर्तालाई आग्रह गरे । नेता कोइरालाले भने, ‘तपाईंहरु यहाँबाट जाँदा ढुक्क भएर जानुस् । तपाईंहरु कसैको डर, धाक धम्कीबाट नडराउनुस् । तपाईंहरुको राजनीतिक संरक्षण म गर्छु । अन्याय हुन नदिने बाचा म गर्छु । म पक्कै गर्छु ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७