अब ‘दाप’ बाहिर आइसकेको सम्पत्ति शुद्धीकरणको हतियारबाट कोही जोगिँदैन : अध्यक्ष लिङ्देन
सुनसरी । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरणको हतियारले अब ठूला दलका कोही नजोगिने बताएका छन् । राप्रपा कोशी प्रदेश समितिले आज (शनिबार) सुनसरीको इटहरीमा आयोजना गरेको बृहत विरोध सभामा अध्यक्ष लिङ्देनले रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलेको जिकिर गर्दै अब दाप बाहिर आइसकेको यो हतियार नरोकिने र रोकिन नहुने बताए ।
अध्यक्ष लिङ्देनले नेपालको सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने भन्दै सुरुमा राप्रपा नेताहरूबाट छानबिन गर्न तयार रहेको बताए । अहिलेको व्यवस्थाले भ्रष्टाचारलाई झनझन संरक्षण गरेको भन्दै देशको लागि राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र अपरिहार्य रहेको बताए ।पार्टीका केन्द्रीय अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्थाबाट देशलाई बर्बाद बनाउन तीनै वटै ठूला दलका शीर्ष नेता मुख्य दोषी भएकाले त्यसविरुद्ध आफ्नो पार्टीले आन्दोलन थालेपछि जनताको आक्रोशले तहसनहस पार्ने हुँदा बेलैमा नवीन सम्झौता गरेर अघि बढ्न आह्वान गरे ।
‘अहिले विशेषगरी सत्तारुढ दल कांग्रेस र एमालेसँगै माओवादी केन्द्रका शीर्ष नेतालाई बाचुञ्जेल प्रधानमन्त्री बनाउँदा पनि देशको अवस्थामा कुनै सुधार आउनेवाला छैन,’ अध्यक्ष लिङ्देनले भने, ‘अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहित विज्ञ व्यक्ति मन्त्री नबनाउने हो भने देश थप बर्बादको बाटोतर्फ अघि बढ्ने छ ।’ उनले प्रदेश खारेजी हुनुपर्ने राजतन्त्रसहितको प्रजातन्त्र र केन्द्रमा संघ तथा तल्लो तहमा बलियो संरचनाका निम्ति सबै दल मिलेर सम्झौता गरेर अघि बढ्नु मात्र अन्तिम विकल्प रहेको जिकिर गरे ।
‘हामी जनतामाथिको निराशालाई टुलुटुलु हेरेर बस्न नसकेपछि शान्तिपूर्ण आन्दोलन थाल्यौं, जनताको आन्दोलनले गलत कार्यलाई क्षणभरमा समाप्त पार्नेछ,’ उनले भने, ‘अहिलेका मुख्य दलका नेतालाई विस्थापित गरेर नेपालको मौलिक दर्शन निर्माण गरि राजा पनि अटाउने, माओवादी पनि अटाउने र अन्य सबै दल अटाउने नवीन सम्झौता गरेमा देश सही ढंगले अघि बढाउन सकिनेछ ।’
उनले देशलाई बर्बाद पार्ने काममा कांग्रेस, एमाले र माओवादीका नेता बराबर दोषी रहेको जिकिर गरे । ‘देश बर्बाद हुँदा पनि जनता नजाग्ने हो भने देश असफल राष्ट्रमा पर्ने खतरा छ,’ अध्यक्ष लिङ्देनले भने, ‘माथिल्लो निकायदेखि तल्लो निकायसम्म जताततै भ्रष्टाचारले गाजेको छ। सरकारले न्यायालय र अख्तियारमा कारिन्दा नियुक्ति गरेर कारबाहीबाट उन्मुक्ति पाउने गरेको छ ।’
विरोध सभालाई सम्बोधन गर्दै सो पार्टीका निर्देशन समितिका अध्यक्ष डा.प्रकाश चन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व र कार्यशैलीका कारण प्रजातन्त्र खतरामा परेको बताए । उनले प्रजातान्त्रिक दलहरूको नाममा प्रजातन्त्र मास्ने काम भएको बताए । डा. लोहनीले केपी ओली, शेरबहादुर देउवा र प्रचण्डलाई कुनै भ्रष्टाचार गरेको छैन, नेपाल बाहिर कुनै पैसा राखेको छैन भनेर नेपालको संसदमा उभिएर नेपाली जनतालाई भन्ने नैतिक हिम्मत नभएको बताए ।
सुनसरीको इटहरीमा आयोजित विरोध सभामा बोल्दै उनले जनताले दिएको विश्वास माथि घात भएको उल्लेख गरे । पूर्व अर्थमन्त्री समेत रहेका लोहनीले किसानले समयमै मल बीउ पाएको भए वा उद्योगीले उद्योग बिस्तार गर्ने वातावरण पाएको भए राप्रपाले विरोध गर्नुपर्ने अवस्था नआउने स्पष्ट पारे । जनताले अहिले विकल्पको खोजी गरेको उनको दाबी थियो ।
राप्रपाको विरोध सभा एउटा कार्यक्रम मात्रै नभएर अब भ्रष्टाचारीको दिनगन्ती सुरु भएको राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले उद्घोष गरेका छन्। राप्रपाले अब जनताको पक्षमा जस्तोसुकै कदम चाल्न तयार रहेको बताउँदै भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन, छानबिन गर्न दबाब दिनका, सहकारी पीडितहरूको बचत फिर्ता गराएरै छाड्ने बताए । विरोध सभामा सहभागी हुन पूर्व क्षेत्रका विभिन्न जिल्लाबाट नेता–कार्यकर्ताहरू इटहरीमा भेला भएका छन् । भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन, छानबिन गर्न दबाब दिनका लागि विरोधसभाको आयोजना गरिएको राप्रपाले जनाएको छ ।
प्रदेश संरचना खारेजी, अधिकार सम्पन्न स्थानीय स्वायत्त शासन, राजसंस्था पुनस्र्थापना र हिन्दु राष्ट्र, सहकारी पीडितको रकम फिर्ता, भ्रष्टाचारीमाथि कारबाही, शिक्षा–स्वास्थ्य–रोजगारीमा समान पहुँच र भूमिहीन समस्या समाधान जस्ता विषयहरू राप्रपाले निरन्तर उठाउने महामन्त्रीद्वय राजेन्द्र गुरुङ, प्रह्लाद प्रसाद शाहले सम्बोधनका क्रममा जोड दिए । विरोध कार्यक्रमलाई निर्देशन समितिका सदस्य रामकुमार सुब्बा, कोशी प्रदेश अध्यक्ष रामकुमार थापा, केन्द्रीय सदस्य इनु अधिकारी, सुनसरी जिल्ला अध्यक्ष दुर्गाबहादुर सुवेदी लगायतले सम्बोधन गरेका थिए ।