एनसेलको शेयर खरिद–बिक्रीविरुद्धको रिट सर्वोच्चले गरिदियो खारेज
काठमाडौं । सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्रीविरुद्ध दायर गरेको रिट खारेज गरिदिएको छ । आज (बिहीबार) न्यायाधीशद्वय सपना मल्ल प्रधान र टेकप्रसाद ढुंगानाको इजलासले शेयर खरिद–बिक्रीविरुद्ध परेको रिट खारेज गरिदिएको हो । रिट खारेज गर्ने आदेशसँगै इजलासले निर्देशनात्मक आदेश समेत दिएको छ ।
प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार अमरेश सिंहले २०८० मंसिर २० गते एनसेलको शेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । आजियाटा र स्पेक्ट्रलाइट यूके लिमिटेडबीच कारोबार अपारदर्शी भएको र एनसेलको अनुमतिपत्र रहुञ्जेलसम्म आजियाटाले एनसेलको आम्दानी लैजाने गरी शेयर खरिद–बिक्रीको सम्झौता भएको दाबी रिट निवेदनमा गरिएको थियो ।
एनसेल कम्पनीको शेयर बिक्रीमा विधिको शासनलाई चुनौती भएको उल्लेख गर्दै रिटमा अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड भएको जिकिर गरिएको थियो । मलेसियाको कम्पनी आजियाटाले आफूसँग भएको एनसेलको ८० प्रतिशत स्वामित्व बेचेको सार्वनजिक भएपछि विवाद सुरू भएको थियो ।