भारतीय उदारवादका प्रणेता डा.सिंह जसले कठिनतम् परिस्थितिमा पनि निष्ठा बचाए
जसले भारतीय अर्थतन्त्रलाई ‘रेस्क्यु’ गरेर विश्वकै ठूलोमध्येको बनाए
काठमाडौं : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन डा. सिंहको निधन लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीले भारत आफ्नो सबैभन्दा प्रतिष्ठित नेता सिंहको निधनमा शोकमा डुबेको बताए । उनले लेखेका छन्, ‘भारत आफ्नो सबैभन्दा प्रतिष्ठित नेता डा. मनमोहन सिंहको निधनमा शोकमा छ । उहाँले सामान्य पृष्ठभूमिबाट उठेर प्रख्यात अर्थशास्त्री बन्नुभयो । उहाँले अघि सारेको आर्थिक नीतिले भारतमा गहिरो छाप छोडेको छ ।’
भारतीय प्रधानमन्त्री मोदीले भने जस्तै भारतीय अर्थतन्त्रमा सिंहको गहिरो छाप छ । सन् २००४ देखि २०१४ सम्म काङ्ग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपिए) अन्तर्गत गठबन्धन सरकारको नेतृत्व गर्दै मनमोहन सिंह लगातार दुई कार्यकाल प्रधानमन्त्री बनेका थिए। दश वर्षसम्म प्रधानमन्त्री बनेका डा. सिंह भारतीय उदारवादका प्रणेता पनि हुन्।
१९९१ मा भारतको वित्त मन्त्रीका रूपमा उनले आर्थिक उदारीकरणको प्रक्रिया शुरू गरे, जसले भारतलाई विश्व अर्थतन्त्रमा स्थान दिलायो। उनले संकटको सँघारमा रहेको अर्थतन्त्रलाई विश्वकै ठूलोमध्येको एक बनाए ।
सिंहको जन्म २६ सेप्टेम्बर, १९३२ मा ब्रिटिस भारतको पञ्जाब प्रान्तको गह गाउँमा भएको थियो, जुन अहिले पाकिस्तानमा छ। सन् १९४७ मा भारतको विभाजनपछि उनको परिवार भारत बसाइँ सरेको थियो। सिंहले पञ्जाब विश्वविद्यालय, चण्डीगढबाट अर्थशास्त्रमा प्रथम श्रेणीको डिग्री प्राप्त गर्दै शैक्षिक रूपमा उत्कृष्ट प्रदर्शन गरे। पछि उनले क्याम्ब्रिज विश्वविद्यालयमा स्नातकोत्तर अध्ययन गरे, सन् १९५७ मा अर्थशास्त्रमा डिग्री प्राप्त गरे र सन् १९६२ मा अक्सफोर्ड विश्वविद्यालयबाट डीफिल प्राप्त गरेका थिए।
लन्डन स्कूल अफ इकोनोमिक्समा अर्थशास्त्रको उच्च शिक्षा अध्ययन गरेका सिहंले सिंगापुरको नान्याङ प्राविधिक विश्वविद्यालयमा व्यावहारिक अर्थशास्त्र पढे । उनी अर्थ, वाणिज्य र योजना आयोगको सचिव, भारतीय रिजर्भ ब्यांंकको गभर्नर, योजना आयोगको उपाध्यक्ष र अर्थमन्त्री हुँदै प्रधानमन्त्रीको जिम्मेवारीमा पुगे ।
उनी जहाँ जहाँ रहे, आार्थिक सुधारका कार्यक्रम लागू गरे। बहुधा राजनीतिज्ञले गर्ने ‘पोलिटिकल गिमिक’ बाट पर रहे तैपनि परिणामले उनलाई पछ्याइरह्यो। भारत आजको अवस्थामा आइपुग्नुको पछाडि डा. सिंहको नीति र नेतृत्वको पनि भूमिका छ।
कांग्रेस नेतृ प्रियंका गान्धीले । कठिन परिस्थितिमा पनि आफ्नो निष्ठा र धैर्य कायम राख्ने नेता भएको बताएकी छिन् । लेखेकी छिन्, ‘राजनीतिमा थोरै व्यक्तिहरूलाई मनमोहन सिंहजस्तो सम्मान प्राप्त हुन्छ । उनका विचार र इमानदारी सधैं प्रेरणाको स्रोत रहन्छन् । कठिन परिस्थितिमा पनि उनले आफ्नो निष्ठा र धैर्य कायम राखे । मनमोहन सिंह राजनीतिका कठिन यात्रामा एक उदाहरणीय व्यक्तित्व थिए ।’
डा. मनमोहन सिंहको यात्रा
डा. सिंहले सन् १९६६ मा राष्ट्रसंघीय व्यापार तथा विकास निकाय (अङ्टाड)को आर्थिक मामिला हेर्ने कर्मचारी हुँदै वित्त शाखा प्रमुखको जिम्मेवारीमा रही व्यापार, विकास र वित्तको अनुभव सँगालेका थिए। अङ्टाडमा रहँदा डा.सिंहलाई व्यापार र विकासको विषयमा विश्वको प्रवृत्ति, अल्पविकसित मुलुकको बिग्रँदो ‘टर्म्स अफ ट्रेड’ र त्यसले भुक्तान सन्तुलन तथा आर्थिक विकासमा पारेको प्रतिकूल प्रभावका विषयमा अध्ययन गर्ने र अनुभव लिने अवसर जुटायो। यो उनको जीवनको पहिलो ‘टर्निङ पोइन्ट’ थियो।
त्यसपछि सन् १९६९ मा भारत फर्किएर दिल्ली स्कूल अफ इकोनोमिक्स स्थापना गरी प्राध्यापन गर्न थाले। शायद लन्डन स्कूल अफ इकोनोमिक्स जस्तै उत्कृष्ट अध्ययन संस्था आफ्नो मुलुकमा खोल्ने र अर्थशास्त्रमा अब्बल जनशक्ति तयार गर्ने उनको ध्येय थियो। लन्डन स्कूल अफ इकोनोमिक्स, नान्याङ, अक्सफोर्ड र अङ्टाडमा प्राप्त प्राज्ञिक तथा व्यावहारिक अनुभवलाई भारतीय परिस्थितिमा कार्यान्वयन गर्ने अभिलाषा पनि थियो।
भारत फर्केपछि उनको वृत्तिले दोस्रो मोड लियो। दिल्ली स्कूल अफ इकोनोमिक्समा जम्माजम्मी दुुई वर्ष जति प्राध्यापन गरेपछि सन् १९७१ मा सरकारी सेवामा प्रवेश गरे। पहिला बाह्य व्यापार मन्त्रालयको विज्ञका रूपमा प्रवेश गरेका सिंह सन् १९७२ देखि १९७६ सम्म अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकारको जिम्मेवारीमा पुगे।
त्यसपछि भने विज्ञ र सल्लाहकारको भूमिकाबाट उनको कार्यक्षेत्र कार्यकारीमा परिणत भयो, सन् १९७६ देखि १९८० सम्म अर्थ मन्त्रालयको आर्थिक मामिला सचिवको जिम्मेवारीमा रहे। कार्यक्षेत्र आर्थिक र व्यापारबाट विस्तृत नीति तथा योजनामा विस्तार भयो।
सन् १९८० देखि १९८२ सम्म योजना आयोगका सचिव भए। यसले सामाजिक आर्थिक विकासका लागि राज्यको भूमिका कस्तो हुनुपर्छ भन्ने स्पष्ट दृष्टिकोण विकास गर्न र त्यसलाई आवधिक कार्यक्रममा समावेश गरी लागू गर्ने कार्यखाका निर्माणमा संलग्न भए। साथसाथै व्यावहारिक दक्षता प्रस्तुत गर्ने वातावरण पनि मिल्यो।
डा. सिंहको क्षमता र कामको मूल्याङ्कन गरी सरकारले सन् १९८२ मा भारतीय रिजर्भ ब्यांंकको गभर्नरमा नियुक्ति गर्यो। आर्थिक तथा सामाजिक नीति निर्माणमा दक्षता देखाइसकेका सिंहले केन्द्रीय मौद्रिक पदाधिकारीको प्रमुखका रूपमा मौद्रिक गतिविधि मार्फत निजी क्षेत्र परिचालन गर्ने, वित्तीय क्षेत्रको नियमन गर्ने र बजार गतिविधिलाई अपेक्षित रूपमा लैजाने भूमिका सहज ढङ्गले निर्वाह गरे।
दुई वर्षपछि सन् १९८४ मा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषद्मा रहेर काम गर्ने अवसर पाए। सन् १९८५ मा सिंह योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा पुगे। प्रधानमन्त्री अध्यक्ष रहने आयोग आर्थिक सामाजिक रूपान्तरणको नीति योजना बनाउने, राज्य तथा संघीय निकायलाई राष्ट्रिय प्राथमिकतमा परिचालन गर्ने ‘टेक्नोपोलिटिकल एपेक्स’ निकाय थियो।
मुलुकको आर्थिक विकास धेरै हदमा यही निकायले निर्धारण गर्ने नीति प्राथमिकतामा निर्भर गर्थ्यो। व्यापार, विकास र वित्त प्रणालीमा व्यावहारिक ज्ञान पाएका सिंहले यसै समय आर्थिक उदारीकरणको नीति लागू गरी आर्थिक विकास र उत्पादन गतिविधिमा बजार पात्रको भूमिका विस्तार गर्ने उल्लेख्य काम गरे। यति वेला विश्व उदारीकरणको बहावमा थियो, राष्ट्रहरू उदारीकरणको गति तथा प्रवाह पकड्ने अभियानमा थिए। निजी क्षेत्रको सम्भावना र क्षमताको उपयोगबाट राष्ट्रिय अर्थतन्त्रलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने चिन्तामा थिए। त्यही वेला डा. सिंह उदारीकरणका कुशाग्र नीतिशिल्पी देखिए।
सरकारी निकायमा १५ वर्ष बिताएपछि सन् १९८७-९० का लागि सिंह व्यापार र विकास सम्बन्धी दक्षिण परिषद् जेनेभाको महासचिवको अन्तर्राष्ट्रिय जिम्मेवारीमा पुगे। यस समयमा उनले अल्पविकसित मुलुकले झेलिरहेका व्यापार तथा विकास समस्याको अध्ययन, सहयोग सहजीकरणको संस्थागत नेतृत्व लिए। अल्पविकसित मुलुकको व्यापार विकास सहजीकरण गर्ने उनको जिम्मेवारी थियो। यही वेला डा. सिंहले अल्पविकसित मुलुक आर्थिक-सामाजिक पछौटेपन, न्यून आर्थिक वृद्धि र अनुपयुक्त नीति नेतृत्वको समस्यामा जकडिएका हुन्छन्, त्यसलाई नहटाई उत्पादन, रोजगारी, व्यापारका उपलब्धि हासिल गर्न सकिंदैन भन्ने निष्कर्ष निकाले।
सन् १९९१ मा फेरि भारत फर्केपछि प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको जिम्मेवारी पाए। यही समय छोटो अवधिका लागि विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष समेतको भूमिका पाएर शिक्षा र विकासको सम्बन्ध स्थापनाको प्रयास गरे।
सन् १९९१ बाट मनमोहन सिंहको जीवनले चौथो मोड लिन पुग्यो। गान्धी परिवार क्षमतावान् र विश्वासिलो व्यक्तिको खोजीमा थियो। विश्वास र क्षमताका कारण परिस्थितिले डा. सिंहलाई प्राविधिक भूमिकाबाट राजनीति जस्तो बृहत् क्षेत्रमा हुत्याइदियो। उनी भारतीय राष्ट्रिय कंग्रेसको सदस्य बने र राज्यसभाको सदस्य निर्वाचित भए। साथै पीभी नरसिंह राव नेतृत्वको सरकारको अर्थमन्त्री बने।
रावको समयमा विश्वभरि उदारवादको लहर चलेको थियो। नेपाल पनि यसै समय नीति पुन:संरचना गरी सार्क क्षेत्रको उदारवादी आर्थिक नीति लिने प्रमुख मुलुक बनेको थियो। नेपालको उदारीकरणको नीतिको प्रशंसा भइरहेको थियो।
सन् १९९१-९६ सम्म अर्थमन्त्री रहँदा डा. सिंहले आर्थिक उदारीकरणका महत्त्वपूर्ण नीति तर्जुमा गर्न निर्णायक भूमिका खेले। त्यसपछि सन् १९९८ मा पुन राज्यसभामा निर्वाचित भए तर यतिखेर कांग्रेसको सरकार थिएन, उनी राज्यसभामा विपक्षी दलको नेता बनेर आफूहरूले घोषणा गरेका नीति कार्यक्रम कार्यान्वयनका पहरेदारी गर्ने जिम्मेवारीमा रहे।
सन् २००४ मा कांग्रेसले नेतृत्व गरेको संयुक्त प्रगतिशील गठबन्धनले बहुमत प्राप्त गरेपछि डा. सिंह भारतका तेह्रौं प्रधानमन्त्री बने। यो परिस्थितिले दिएको अनपेक्षित शीर्ष जिम्मेवारी थियो। सन् २००९ मा फेरि प्रधानमन्त्री बिने। आफैं प्रधानमन्त्री भएपछि उनको यस अघिको सल्लाहकारी र सहयोगी भूमिका कार्यकारी नेतृत्वमा परिणत हुन पुग्यो।
त्यही वेला भारतलाई सन् २०४३ सम्म विश्वको तेस्रो आर्थिक शक्ति बनाउने महत्त्वाकांक्षी दीर्घकालीन रणनीति प्रस्तुत गरिएको थियो। अर्थमन्त्री प्रणव मुखर्जी लगायत अर्थतन्त्र र व्यापारमा जानकार पदाधिकारीले यस अभियानलाई सहयोग गरे। उच्च व्यावसायिक क्षमता, प्राज्ञिक ज्ञान र नीति निष्ठाका कारण सबै राजनीतिक दलको सहयोग लिन डा. सिंहलाई त्यति असजिलो भएन।
अर्कातिर, भारतीय राजनीतिको संस्थापन पक्षका रूपमा स्थापित कांग्रेस र यसको नेतृत्व गर्ने गान्धी परिवारको उच्च विश्वासले पनि उनलाई काम गर्न सजिलो भयो।
तेस्रो विश्वका मुलुकको राजनीतिमा देखिएको अवसरवाद, उग्रमहत्त्वाकांक्षा र परिवारवादको कोठरीबाट निस्कने नेताभन्दा सिंह फरक थिए। भारतमै पनि उनका समकालीन नेताहरू विवाद आए। उनकै नेता नरसिंह रावको राजनीतिक आचरणमा प्रश्न उठ्यो। डा. सिंह भने यस प्रवृत्तिबाट बिल्कुलै भिन्न र सादगीपूर्ण निष्ठाको धरोहर बनिरहे।