निजामती कर्मचारीमा दलगत ट्रेड युनियन नराख्न कांग्रेस–एमाले सहमत
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले निजामती कर्मचारीमा दलगत ट्रेड युनियन नराख्न सहमत भएका छन् । प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको आज (बिहीबार) को बैठकमा कांग्रेस र एमालेका प्रमुख सचेतकहरू पार्टीगत ट्रेड युनियन नराख्ने पक्षमा एक ठाउँमा उभिएका हुन् ।
समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलका क्रममा कांग्रेस र एमालेका प्रमुख सचेतक तथा सचेतकहरूले कर्मचारीमा पार्टीगत ट्रेड युनियन खोल्नै दिन नहुने समान धारणा राखेका हुन् । ‘अब ट्रेड युनियन पार्टीगत हुन हुन्न,’ कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले समितिको बैठकमा भने, ‘यो पार्टीकै धारणा हो ।’
समितिका सभापति रामहरि खतिवडाले कांग्रेस सचेतक घिमिरेलाई पार्टीगत ट्रेड युनियन खोल्न नदिने कुरा व्यक्तिगत हो कि पार्टीकै धारणा हो भनेर सोधेका थिए । प्रमुख सचेतक घिमिरेले जबाफ दिँदै प्रमुख सचेतकले राखेको धारणा पार्टीकै आधिकारिक भएको उल्लेख गरे ।
यस्तै धारणा राखे एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि । उनले कर्मचारीमा एउटा ट्रेड युनियनल रहने कुरा कसरी सम्बोधन गर्ने हो गरौं भन्दै धेरै वटा ट्रेड युनियन रहन नहुनेमा जोड दिए । प्रमुख सचेतक बर्तौलाको उक्त धारणालाई एमालेकी सचेतक सुनिता बरालले समर्थन जनाउँदै यो पार्टीकै धारणा भएको बताइन् ।
‘ट्रेड युनियनमा आबद्ध भएकाको जबाफदेहीताको कुरा छ, नागरिकको सेवामा परेको असरको कुरा छ,’ उनले भनिन्, ‘यसबारे अनेक कोणबाट प्रश्न आएका हुन् र यसबारे बहस भएका हुन् ।’ विधेयकमाथि धारणा राख्न राज्य व्यवस्था तथा सुशासन समितिले दलहरूका प्रमुख सचेतक र सचेतकलाई समितिमा बोलाएको थियो । पार्टीगत ट्रेड युनियन नराख्न कांग्रेस र एमाले एकमत देखिएकोले निजामती विधेयकमा यो व्यवस्था रहने सम्भावना अघि बढेको छ ।