भोजपुरमा स्कार्पिओ भीरबाट खस्दा एकको मृत्यु, नौं जना घाइते
भोजपुर । भोजपुरमा स्कार्पिओ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा नौं जना घाइते भएका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
भोजपुर नगरपालिका–५ बोखिमको डाडाँटोल भन्ने ठाउँको भित्री सडक खण्डमा आज बिहान साढे ८ बजेतिर प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कार्पिओ सडकबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घलेको मृत्यु भएको श्रेष्ठले बताए । दुर्घटनामा स्कार्पिओ चालक र एक बालकसहित नौ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इन्सपेक्टर श्रेष्ठले जानकारी दिए । ‘गम्भीर घाइते तीन जनालाई थप उपचारको लाग केही बेरअघि हेलिकप्टरबाट काठमाडौँ पठाएका छौँ,’ श्रेष्ठले सुनाए, ‘अन्य घाइतेको अहिलेसम्म भोजपुर जिल्ला अस्पतालमै उपचार भइरहेको छ । त्यसमध्ये बढी चोट लागेका केहीलाई धरान लैजाने तयारी हुँदैछ ।’
इन्सपेक्टर राईका अनुसार गम्भीर घाइते भोजपुर नगरपालिका–५ कि लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ कि इहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको हो । स्कार्पिओ चालक सुनसरीको धरान– ८ का सुदीप लिम्बू उपचारपछि डिस्चार्ज भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ । स्थानीय टेम्केडाँडा भ्रमणमा जाँदै गरेका यात्रु सवार स्कर्पिओ आफैँ अनियन्त्रित भइ सडकबाट करिब २५० मिटर तल खसेको श्रेष्ठले बताए ।