कजाखस्तान विमान दुर्घटना अपडेट : ३२ यात्रुको जीवितै उद्धार
काठमाडौं । कजाखस्तानको अक्ताउ सहरमा विमान दुर्घटना हुँदा ३० जना बढी यात्रुको मृत्यु भएको छ । अजरबैजानको राजधानी बाकुबाट रुसको चेचन्यास्थित ग्रोजनी सहर जाने क्रममा कजाखस्तानको अक्ताउ सहरमा विमान दुर्घटना भएको हो ।
स्थानीय अधिकारीका अुनसार विमानमा यात्रु ६७ र चालक दलका ५ सदस्य थिए । तीमध्ये ३२ जनाको जीवितै उद्धार गरिएको छ । उनीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ । विमानमा रहेका ६७ यात्रुमध्ये ३७ अजरबैजानी, ६ कजाख, तीन किर्गीज र १६ रुसी नागरिक रहेको बताइएको छ ।
गन्तव्यमा पुग्नै लाग्दा बाक्लो हुस्सु लागेपछि विमानले आफ्नो मार्ग परिर्वतन गरेको थियो । त्यसपछि विमान दुर्घटनाग्रस्त भएको र भीषण आगलागी भएको बताइएको छ । कजाखस्तानको यातायात मन्त्रालयलका अनुसार विमान दुर्घटनाको कारण पत्ता लगाउन अुनसन्धान सुरु भएको छ । एजेन्सी