सरकार संसदबाट तर्किएर हिंड्दैछ : सभामुख घिमिरे
भक्तपुर । सभामुख देवराज घिमिरेले संसदीय लोकतन्त्र प्रवर्द्धनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । आज भक्तपुरको नगरकोटमा सम्पन्न ‘संसद्–सञ्चार’ अन्तरसंवाद कार्यक्रममा उनले पत्रकारिता पेसालाई लोकतान्त्रिक पद्धतिमा सँगसँगै लिएर गए मात्रै लोकतन्त्र बलियो हुने विश्वास व्यक्त गरे।
‘लोकतन्त्रलाई बलियो बनाउन प्रभावकारी संसद् बन्नुपर्छ । प्रभावकारी संसद् बनाउन सञ्चारमाध्यम र पत्रकारले निगरानी गर्न आवश्यक छ’, सभामुख घिमिरेले भने, ‘सत्यतथ्यमा आधारित भएर सही सूचना प्रवाह गर्नु सञ्चारमाध्यमको पहिलो दायित्व हो । त्यसैले संसद्ले गर्ने गतिविधिलाई सुधार गर्न रचनात्मक रू सञ्चारमाध्यम र पत्रकारको सहयोग आवश्यक पर्दछ ।’
अहिले संसदमा बजेट र विधेयकहरूको प्रभावकारी छलफल भइरहेको बताउँदै सभामुख घिमिरेले यसको सूचना जनस्तरसम्म पुग्नुपर्नेमा जोड दिए । संसद्लाई थप प्रभावकारी बनाउन सचिवालयले नयाँ ढङ्गबाट काम गरिरहेको उनले बताए । सभामुख घिमिरेले सरकार संसदबाट तर्किएको बताएका छन् । संसद सरकार जन्माउने आमा भएको उल्लेख गर्दै सभामुख घिमिरेले जन्माएको आमाबाट सरकार टाढा हुने, तर्सिने, तर्किने कार्य गरेको बताएका छन् ।
संघीय संसद् सचिवालयले नगरकोटमा गरेको एक कार्यक्रममा बोल्ने क्रममा सभामुख घिमिरेले भने, ‘संसद सरकार जन्माउने आमा हुन् । तर, आफूले जन्माएको सरकार आमाबाट टाढा हुने, त्यसलाई बाधा बन्ने, तर्सिने, तर्किने आदि जे गरेर हिडिंरहेको छ । यो बेठीक छ ।’ संसदप्रति सरकार पूर्ण रुपमा जवाफदेही हुनुपर्ने घिमिरेले बताए ।
सरकारलाई अप्ठ्यारो नपरेसम्म संसदमा नआउने गरेको सभामुख घिमिरेले बताए । कानुनमा अप्ठ्यारो प¥यो भने मात्रै संसदमा सरकार आउने प्रवृत्ति रहेको उनले जिकिर गरे ।उपसभामुख इन्दिरा रानामगरले संसदीय ‘रिपोर्टिङ’ गर्दा संसदीय अभ्यास र प्रक्रियाका विषयमा पत्रकार जिम्मेवार र इमानदार भएर समाचार सङ्कलन गर्नुपर्ने बताइन् । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले पत्रकारसँगको अन्तरक्रियाले सुधार गर्नुपर्ने कामका बारेमा जानकारी प्राप्त भएको उल्लेख गरे ।
कार्यक्रममा सहभागी पत्रकारहरूले राजनीतिक दल, सांसद र सरकारलाई संसद्प्रति उत्तरदायी बनाउनुपर्ने र संसदीय ममिलाका विषयहरू छलफलका माध्यमबा संसद्को वरिपरि रहेर निर्णय हुनुपर्ने बताएका थिए । दुई दिनसम्म सञ्चालित कार्यक्रममा संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, वरिष्ठ पत्रकार एवं संसदीय रिपोर्टिङ विज्ञद्वय हरिबहादुर थापा र जगत नेपालले संसदीय रिपोर्टिङ र अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूको सहभागिता थियो ।