सिद्धबाबा सुरुङ मार्ग : तीनवटै बाइपासको ‘ब्रेक थ्रु’


२०८१ पौष ९ मंगलबार १६:४९ बजे

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको  सिद्धबाबा सुरुङ मार्गको तीन वटै बाइपास छिचोलिएको (ब्रेक थ्रु) भएको छ । आयोजनाले मुख्य टनेलको काम पनि तीव्र रुपमा भइरहेको जानकारी दिएको छ ।  यस आयोजनामा ११२६ मिटर मुख्य सुरुङको लम्बाइ रहेकोमा ‘ब्रेक थ्रु’ हुन अब ६६ मिटर मात्रै बाँकी रहेको आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् ।

सुरुङभित्र केही समस्या आए निस्कन मिल्ने गरी यहाँ तीनवटा बाइपास  बनाउने काम भइरहेको छ । तेस्रो र पहिलो बाइपास को  ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकोमा दोश्रो बाईपासको ब्रेक थ्रु यही ७ पुस आइतबार भएको छ ।  सिद्धबाबा सुरुङमार्ग आयोजनाअन्तर्गत कुल तीनमध्ये सबैको ‘ब्रेक थ्रु’ भएको हो । अब मुख्य टनेलको ‘ब्रेक थ्रु’ हुन बाँकी छ । यहाँ पहिलो बाइपासको लम्बाई एक सय ५१ मिटर,  दोस्रोको लम्बाइ एक सय ६१ मिटर र तेस्रोको एक सय ३० मिटर लम्बाइ रहेको छ ।

२६ भदौमा तेस्रो र ४ असोजमा पहिलो बाइपास खनेर सकिएको आयोजनाकी सूचना अधिकारी  ज्ञवालीले जानकारी दिइन् । पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिर तर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । अब मुख्य टनेलको पनि यही महिनाभित्रै ‘ब्रेक थ्रु’ गर्ने गरी काम भइरहेको इन्जिनियर ज्ञवालीले बताइन् । चाइना स्टेट कन्स्टक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख चार हजार ७३४ रुपैयाँमा ठेक्का लिएको थियो । सिद्धार्थ राजमार्ग भएर साना–ठूला  दैनिक एक हजारभन्दा बढी सवारी ओहोरदोहोर गर्छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७