फूलचोकीको जंगलमा हराएका १३ जना प्रहरीको सम्पर्कमा
काठमाडौं । ललितपुरको फूलचोकी जंगलमा हराएका १३ जना प्रहरीको सम्पर्कमा आएका छन् । सम्पर्कमा आएसँगै जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूको उद्धार गरिरहेको छ ।
फूलचोकी डाँडामा घुम्न गएका १३ युवाले जंगलमा बाटो भुलेपछि सोमबार साँझ प्रहरीलाई फोन गरेका थिए । प्रहरीले तत्काल प्रहरी प्रभाग बाडेगाउँकी इन्स्पेक्टर अस्मिता कपालीको कमाण्डमा घटनास्थलतर्फ सुरक्षाकर्मी पठाएको थियो ।
प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी चित्रबहादुर भट्टराईले हराइरहेका युवा प्रहरीको सम्पर्कमा आइसकेको जानकारी दिए । उनले भने, ‘फूलचोकीको जंगलमा घुम्न गएका युवा हराएको खबर आउनासाथ उद्धारका लागि सुरक्षाकर्मी खटियो । अहिले उनीहरू प्रहरीको सम्पर्कमा आइसकेको सूचना प्राप्त भएको छ ।’
हराउनेमा १० पुरुष र तीन महिला रहेको जिल्ला प्रहरी परिसरका एसपी नवरत्न पौडेलले बताए । अहिले उनीहरूलाई बाणेगाउँ प्रहरी प्रभागमा आरामका निम्ति लगिएको र आफन्तको जिम्मामा घर पठाइने पौडेलले बताए । उनीहरूको स्वास्थ्य र मानसिक अवस्था सामान्य छ ।