परराष्ट्रमन्त्री राणा १७ दिनपछि स्वदेश फिर्ता
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा १७ दिनपछि भारत हुँदै स्वदेश फर्किएकी छन् । चीन भ्रमणबाट फर्किए लगत्तै युरोप भ्रमणमा निस्किएकी परराष्ट्रमन्त्री राणा भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् । भारतको नयाँ दिल्लीबाट नेपाल वायु सेवा निगमको जहाजमा उनी काठमाडौं ओर्लिन् ।
यसअघि उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासका अधिकारीहरूको टोलीले बिदा गरेको थियो । अन्तर्राष्ट्रिय अदालतमा जलवायु न्यायम्बन्धी सार्वजनिक सुनुवाइमा नेपालको प्रतिनिधित्वका लागि राणा मंसिर २२ मा नेदरल्याण्ड्सको हेग प्रस्थान गरेकी थिइन् भने उतैबाट भारत गएकी थिइन् । उनी युरोपका केही कार्यक्रममा सहभागी भएर पुस ४ गते जर्मनीको बर्लिनबाट नयाँ दिल्ली गएकी हुन् ।
भारतमा उनले नेपाल–भारत आर्थिक सम्बन्ध विषयक एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेकी थिइन् । काठमाडौँ विश्वविद्यालयको नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको एउटा गैरसरकारी संस्था फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो) को आयोजनामा गत शुक्रबार उक्त सम्मेलन भएको थियो । सम्मेलनमा मन्त्री राणाले मुख्य वक्ताको रूपमा सम्बोधन गरेकी थिइन् ।
सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र चीनसँग भएको बेल्ट एन्ड रोड (बीआरआई) सहकार्य फ्रेमवर्क सम्झौतालाई लिएर बहस भइरहेका बेला परराष्ट्रमन्त्री राणा लामो समयका लागि देशबाहिर गएकी थिइन् । प्रधानमन्त्री ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा गएर २० गते फर्किएका थिए । परराष्ट्रमन्त्री राणा पनि भ्रमण टोलीमा थिइन् । चीनबाट फर्किएको पर्सीपल्टै परराष्ट्रमन्त्री राणा लामो समयका लागि युरोप भ्रमणमा निस्किएकी थिइन् । यसअघि भदौ २ गते भारतको पाँच दिने औपचारिक भ्रमण गएकी थिइन् ।