रविको निलम्बनबारे छलफल चल्दै गर्दा सभामुख भेट्न पुगे रास्वपा सांसद
काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै रास्वपाका सभापति रवि लामिछानेको सांसद पद के हुन्छ भन्ने चौतर्फी चासो बढेको छ ।
सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा दायर भएको हुँदा उनी स्वतः निलम्बनमा पर्ने एकाथरीको मत छ भने अभियोग पुष्टि नहुँदासम्म निलम्बन गर्न नहुने अर्काथरीको मत छ । आइतबार नै कास्की प्रहरीले रविविरुद्ध मुद्दा दायर भएको पत्र संसद् सचिवालय र सभामुख देवराज घिमिरेलाई पठाएको थियो । सो पत्रलगत्तै सभामुखले परामर्श अगाडि बढाएका छन् । सभामुख घिमिरे बिहानैदेखि यसबारेमा छलफल गरिरहेका छन् ।
सभामुख घिमिरे छलफल गरिरहँदा रास्वपाका सांसदद्धय सोविता गौतम र गणेश पराजुली घिमिरेलाई भेट्न पुगेका छन्। सभामुख घिमेरे छलफलमा रहँदै गौतम र पराजुली उनको कार्यकक्षमा पुगेका हुन् । अहिले छलफल जारी छ । रास्वपाले रविलाई तत्काल निलम्बन नगर्न सभामुखलाई दवाव दिने तयारी गरेको छ ।