सिरहा कारागार प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन
सिरहा । सिरहा कारागार प्रकरणको अनुसन्धान गर्न बनेको छानबिन समितिले झण्डै डेढ महिनापछि अनुसन्धान प्रतिवेदन बुझाएको छ । समितिले गत बिहीबार नै प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा बुझाएको छानबिन समितिका सदस्य तथा जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी रवीन्द्रकुमार महतले जानकारी दिए । सूचना अधिकारी महतका अनुसार अनुसन्धान प्रतिवेदन ९० पृष्ठको रहेको छ ।
उनले भने, ‘प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल बिदामा हुनुहुन्छ । सम्भवत उहाँ बिहीबार कार्यालय आउनु हुन्छ । उहाँ आएपछि जिल्ला सुरक्षा समितिको बैठकमा प्रतिवेदन पेस हुन्छ र प्रतिवेदन सार्वननिक हुन्छ ।’ गत कात्तिकमा कैदीहरुले कारागारभित्रै मदिरा सेवन गर्नेदेखि अवैध लागुऔषध समेत कारोबार गर्ने गरेको सूचना बाहिरिएपछि सो सम्बन्धमा सम्बन्धमा अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीको नेतृत्वमा कात्तिक २५ गते पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो । छानबिन समितिमा जिल्ला प्रशासन र कारागार कार्यालयका प्रतिनिधि समेत रहेका थिए ।
कारागारका मूल नाइके र अन्य कैदीले मदिरा खाँदै गरेको तथा मोबाइल चलाउँदै गरेको घट्ना प्रमाणसहित सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । त्यस्तै कारागारमा पाँच गुणासम्म मूल्यमा लागुऔषधसहित बाहिर पाइने सबै कुरा उपलब्ध हुने जानकारी बाहिरिएको थियो । यस प्रकरणमा कारागार व्यवस्थापन विभागले तत्कालै जिल्ला प्रशासन कार्यालय सिरहालाई घटनाको छानबिन गरी संलग्नलाई कारबाही गर्न र कारागार कार्यालय सिरहालाई घटनाबारे प्रतिवेदन पठाउन लिखित रूपमा निर्देशन दिएको थियो ।
त्यसपछि गठन भएको छानबिन समितिलाई सुरुमा अनुसन्धान प्रतिवेदनका लागि १५ दिनको समय दिइएको थियो । तर, समयमै अनुसन्धान तथा छानबिनको काम नसकिएपछि जिल्ला सुरक्षा समितिले समय थप गरेको थियो ।कारागारको अवलोकन, विद्यमान अवस्थाको अध्ययन, भौतिक संरचना तथा सुरक्षा व्यवस्थाको अवस्था, प्रशासनिक प्रणालीको अध्ययन, कैदीसँग छलफल तथा अन्तरक्रिया, कैदीसँग सम्बन्धित अभिलेख सङ्कलन, नीति नियम तथा निर्देशिकाको अध्ययन, सरोकारवालासँग अन्तरक्रियालगायतका काम गरी प्रतिवेदन तयार गर्न समय लागेको छानबिन समितिका सदस्य तथा जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी महतले जानकारी दिए ।