बामदेवले फोन गरेर राजीनामा माग्नु भो, मैले हस् हजुर भनें : प्रधानमन्त्री ओली

‘प्रचण्ड भ्रष्टाचारीका संरक्षक हुन्’


२०८१ मङ्सिर २८ शुक्रबार २०:४५ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) वामदेव गौतमसँग फोनमा भएको कुराकानीबारे सुनाएका छन् । एमाले अध्यक्ष समेत रहेका ओली आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलामा सहभागी थिए । सोही मञ्चबाट बोल्दै उनले वामदेव गौतमसँग शुक्रबार नै भएको कुराकानीबारे केही कुरा सुनाएका हुन् ।

नेकपा एकता अभियानका संयोजक एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मोबाइलमा फोन गरेर राजीनामा माग गरेका छन् । शुक्रबार एक कार्यक्रममा जाँदै गर्दा गौतमले ओलीको मोबाइलमा फोन गरेर राजीनामा माग गरेका हुन् । 

ओलीको मोबाइल उनका स्वकीय सचिव राजेश बज्राचार्यले उठाउने गरेको ठानेर गौतमले उनीमार्फत ओलीको राजीनामा माग गरेका हुन् । तर, गौतमको नम्बरबाट फोन आएको देखेपछि आफैंले उठाएको ओलीले बताए । पार्टी निकट जनजाति संगठनले आयोजना गरेको कार्यक्रममा पुगेर ओलीले आफूलाई वामदेवको फोन आएको र राजीनामा माग गरिएको प्रसङ्ग सुनाएका हुन् ।

वामदेव गौतमसँगको फोन संवादबारे ओलीले भने, ‘अहिले भर्खर म गाडीमा आउँदै थिएँ, वामदेव गौतमजीले फोन गर्नुभयो । अनि के भन्नु भयो भने, मदन भण्डारी कांग्रेसले मारेको हो । मलाई पहिले नै थाहा थियो, म चुप लागें । कांग्रेसले मार्छ भन्ने पनि पहिले नै थाहा थियो । पहिले म चुप लागें, अहिले बुढो पनि भइसकेँ, अब जे सुकै भए पनि मलाई केही छैन । म कुरा भन्दैछु भनेर मेरै (मेरै स्वरमा छ), अब केपी ओलीले प्रधानमन्त्रीबाट पनि पार्टी अध्यक्षबाट पनि राजीनामा गर्नुपर्छ, यस्तो भनेर पाइन्छ । भन्देऊ तिम्रो ठूलो बालाई भनेर, कुरा मसँग गर्नुभयो ।’

वामदेवबाट फोन आएको नम्बर देखेपछि मैले उठाएँ, ‘कामरेड के छ हालखबर सोधें– सबै ठीक छ भन्नुभयो । कुराको अन्तिममा तिम्रो ठूलो बालाई भन्देऊ, प्रधानमन्त्रीबाट पनि राजीनामा गर्न भन्देऊ, पार्टी अध्यक्षबाट पनि राजीनामा गर्न भन्देऊ । यस्तो अपराध गरेर पनि बस्न पाइन्छ ? भनेर एकछिन वामदेव पड्किनु भयो, हस् हजुर भनें मैले, के पड्कने?’ 

वामदेव गौतम भ्रममा परेको भन्दै ओलीले थपे, ‘वामदेव र म नङ र मासु जसरी एउटै विचारमा लामो समय अगाडि बढेका हौं । अचम्म के लाग्यो भने, केपी ओलीकै आवाजमा छ, के हो यो ? छाड्नुपर्‍यो सबै भनेर उहाँले भन्नुभयो । मेरो आवाज चिन्नुभयो युट्युबमा बोलेको, तर म उहाँसँग कुरा गरिराखेको छु, त्यो चिन्नु भएन । एआईको जमाना छ, केही बनाएको होला कांग्रेस र हाम्रो बीचमा लडाइ लगाउने, मलाई डिफेम गर्ने हिसाबले।’

‘प्रचण्ड भ्रष्टाचारीका संरक्षक हुन्’
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कडा आरोप लगाउँदै ‘नराम्रा कामहरुको नेतृत्व प्रचण्डले गरिरहेको’ टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका कारण देशमा ‘जाली, फटाहा र बेइमानी’ को सुरुवात भएको बताए ।

उनले माओवादीले मान्छेहरूलाई दुःख दिने र कुप्रचार गर्ने काममा नेतृत्व गरिरहेको आरोप लगाए । प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई एमाले र आफ्ना विरुद्ध झुटा भ्रम फिँजाएको आरोप लगाउँदै भने, ‘म शिवजीले विष सेवन गरे जस्तै भ्रम सहन गरेर बसेको छु । तर, झुटको खण्डन गर्दै सत्यलाई अघि बढाउनेछु ।’

माओवादी केन्द्रलाई एमालेको लोकप्रियता र आफ्नो नेतृत्वप्रति जनताको समर्थनले पिर परेको टिप्पणी गर्दै उनले भने, ‘माओवादी जुन दिन देशमा पलायो, त्यही दिनबाट बेइमानी र कुप्रचारको सुरुवात भयो । यिनीहरूको गिरोह मेरोविरुद्ध सक्रिय छ ।’ प्रधानमन्त्री ओलीले देशमा कानुनी शासनको स्थापनाका लागि प्रतिबद्ध रहेको बताउँदै भ्रष्टाचारको अन्त्य गरिने दाबी गरे। उनले कुनै पनि भ्रष्टाचारीले झुट, बेइमानी वा अन्य गैर कानुनी बाटोबाट उम्किन नपाउने चेतावनी दिए। उनले थपे, ‘भ्रष्टाचार गर्ने जो कोही भए पनि मुख नहेरी कारबाही हुनेछ ।’ प्रधानमन्त्री ओलीको तीव्र आलोचना र प्रचण्डमाथिको आरोपले राजनीतिक वृत्तमा थप तातो बहसको सुरुवात गरेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७