अहिलेको सरकार सचेत छ, ऋण लिएर घिउ खाँदैन : प्रधानमन्त्री

‘नेपाललाई लाभ पुग्ने गरी बीआरआईमा सहमति गरेका छौं’


१८:०५ बजे

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको चीन भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् । आज (सोमबार) गृह जिल्ला झापाको बिर्तामोडमा आयोजित एमालेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस पटक आफ्नो चीन भ्रमणका क्रममा गरिएको बीआरआई सम्झौतामा ऋण नलिइएको बताए ।

आफू चीन जानुअघि नै ऋण लिन चीन जाँदै छैनौं भनेर आफूले प्रष्ट पारेको उनले स्मरण गराए । प्रधानमन्त्री ओलीले भने, ‘मैले भनेरै गएको थिएँ यतिबेला ऋणको कुरा हुँदैन अनुदान सहायताकै कुरा गर्छाैं, तर कहिलेकाँही प्रतिफल दिने ठाउँमा ऋण लिन सकिन्छ, के–मा ऋण लिन हुन्छ केमा हुँदैन भन्ने कुरामा अहिलेको सरकार सचेत छ, ऋण लिएर घिउ खाइँदैन, देशलाई नोक्सान पर्ने गरी कुनै पनि काम अहिलेको सरकारले गर्दैन, विकास कसरी गर्नुपर्छ भन्ने अहिलेको सरकारलाई थाहा छ ।’

नेपालले प्राप्त गर्ने सहयोग वर्षाैंदेखि अल्मलिएको र अहिले प्राप्त गर्ने सम्झौता भएको उनले बताए । आफू २०१६ मा चीन जाँदा बीआरआईको सहयात्री बन्छौं हामीलाई यसअन्तर्गतको सहयोग चाहिन्छ भनेर चीनसँग भनेको प्रधानमन्त्री ओलीले सुनाए ।

यसपल्ट त्यसलाई हामीले सम्झौता गरेर खोलिएको उनले बताए । प्रधानमन्त्री ओलीले थपे, ‘बीआरआईमा एउटा छाता सम्झौताको सहमतिको रुपमा, दुई देशको मित्रताको प्रतीकका रुपमा, हामीलाई गर्ने सहयोगको मूल ढाँचाको रुपमा अहिले बीआरआईमा सम्झौता गरेका छौं, छलफल चलिरहेको थियो, त्यसकारण अघिल्लो दिन अरु सम्झौतासँगै त्यो भएन,  दिउँसो केही मिलाउनुपर्ने थियो, राति नै हस्ताक्षर भयो ।’

बीआरआई ठिक भएको र बीआरआईमा नेपालले गरेको सहमति ठिक रहेको उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘बीआरआई हाम्रो पक्षमा छ, दुई देशको मित्रता बढ्ने गरी, हाम्रो देशलाई लाभ पुग्नेगरी हामी बीआरआईमा सहमति गरेका छौं, त्यसलाई कार्यान्वयन गर्छाैं ।’ 

कुनै देशसँगको सम्बन्धमा अलमलिन नहुने भन्दै उनले आफूहरुले राष्ट्रिय हित विपरीत कुनै काम नगर्ने बताए।प्रधानमन्त्री ओलीले भने, ‘हामी हाम्रो राष्ट्रिय हित छोड्दै छोड्दैनौं, ठूलो देश र सानो देशको कुरै छैन, सार्वभौमसत्ता उत्तिक्कै हो, राष्ट्रको हित उत्तिक्कै महत्वको हो सबैका लागि ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७