सम्मेलन वहिष्कार गरेर शेखर चितवनमा, देउवा पुगे विराटनगरस्थित कोइराला निवास
काठमाडौं । विराटनगर रहेका कांग्रेस सभापति शेरबहादुर देउवा डा. शेखर कोइराला बस्दै आएको कोइराला निवास पुगेका छन् । उनी नेता डा. शशांक कोइरालाको साथमा कोइराला निवास पुगेका हुन् । प्रथम कोशी सम्मेलनमा भाग लिन विराटनगर पुगेका देउवा कोइराला निवास पुगेका हुन् ।
स्व. कृष्णप्रसाद कोइरालाले डेढ सय वर्ष पहिले बनाएको घरमा पुगेका देउवाले भित्तामा राखिएका तस्वीरहरु चाखपूर्वक हेरेका थिए । डा. शेखर र उनका दाजु निरञ्जनको संयुक्त भागमा परेको यो घरमा डा. शशांक विरलै मात्र पुग्ने गर्छन् । पूर्व प्रधानमन्त्रीहरू मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाका पिताजी कृष्णप्रसादको यो ऐतिहासिक घरमा लामो समयपछि देउवा पुगेका हुन् ।
बिपी कोइरालाको सान्निध्यमा रहेर राजनीति अघि बढाउने मौका पाएका देउवा २०४६ को राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइराला समेतको साथले राष्ट्रिय राजनीतिमा स्थान सुरक्षित गरेका उनी ०३६ को जनमत संग्रहमा पूर्व–पश्चिमसम्मका सभा समारोहमा बीपीसँगै खटिएका थिए । तर पछि उनले गिरिजाप्रसादलाई नै चुनौती दिँदै पार्टीमा अलग धार स्थापित गरेका थिए ।
गृह प्रदेशको सम्मेलन विराटनगरमा आज उद्घाटन हुँदै गर्दा कांग्रेसमा इतर पक्षको नेतृत्व गर्दै आएको शेखरले भने बहिष्कार गर्ने भएको छ । सम्मेलनका लागि उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरु विराटनगरमै छन् ।
१४ औं महाधिवेशनमा सभापतिमा देउवासँग पराजित कोइराला वरियतामा चित्त नबुझाएर आज छुट्टै कार्यक्रमका लागि चितवन गएका छन् । कोइराला सचिवालयका अनुसार चितवन कांग्रेसका पूर्व सदस्य उद्धव लोहनीको बुवा स्व. टेकबहादुर लोहनी र अर्का केन्द्रीय सदस्य दिनेश कोइरालाको बुवा स्व. भिष्मकान्त कोइरालाको शोकसभामा सहभागी हुने चितवन लागेका हुन् । शेखरले पार्टीको निर्देशनविपरित कोशीमा १८ कोशी प्रदेश सभापतिहरुको भेला राखेर आफ्नो शक्ति देखाइसकेका छन् ।