घाँस काट्न हिँडेकी युवतीकाे हत्या, डोकोसहित गाडिएको अवस्थामा भेटियो शव
गोरखा । गोरखा बारपाककी एक १८ वर्षीया युवतीको हत्या भएको छ । यही मंसिर १५ गते घाँस काट्न जंगल हिंडेकी बारपाक सुलिकोट गाउँपालिका–१ की सुचिना घर नफर्किएपछि खोजी गर्ने क्रममा तीन दिनपछि मंसिर १८ गते घरदेखि तीन किलोमिटर पर बारपाककै मैखर्क जंगलमा डोकोसहित खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो ।
सुचिनाको टाउकोमा धारिलो हतियारले हानेको चोट हुनुका साथै हातको दुई वटा औंला काटिएको अवस्थामा भेटिएको स्थानीय गाउँले जानकारी दिएका । हत्यामा संलग्नलाई पक्राउ नगरेसम्म शव नबुझ्ने सुचिनाको माइती पक्षको अडान छ। शव र घटनास्थलको प्रकृतिको आधारमा सुचिनाको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । सुचिनालाई न्याय दिन सबै पक्ष लाग्नुपर्ने घटनास्थल पुगेर फर्किनु भएका सुचिनाको माइती रहेको धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ बताउँछिन् ।
मंसिर १९ गते मृतकका श्रीमान धनबहादुर गुरुङले प्रहरीमा जाहेरी दिएका छन् । अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक नेतृत्वको टोली नै घटनास्थलमा खटिएको छ । घटना गम्भीर प्रकृतिको भएकोले त्रिवि शिक्षण अस्पताल काठमाडौंमा शवको पोस्टमोर्टम गरिएको र रिपोर्ट आउन केही दिन लाग्ने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
बारपाक सुलिकोट गाउँपालिकाले हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेको छ । धार्चे गाउँपालिका वडा नम्बर ६ काशीगाउँकी सुचिना घलेको गत वैशाखमा बारपाक सुलिकोट गाउँपालिका–१ का धनबहादुर गुरुङसँग विवाह भएको थियो । सुचिनाको घरमा श्रीमानका सात दाजुभाइ छन् । एक्लै घाँस काट्न हिँडेकी सुचिनाको शव भेटिएको ठाउँ नजिकै अर्को डोको र टोपी भेटिएकाले त्यही नै अपराधीसम्म पुग्ने प्रमाण हुन्छ भन्ने विश्वासका साथ प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।