अघिल्लो सरकारले ११ हजार नक्कली आयोजना ल्याएछ, गफका भरमा चल्दैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारी काम गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिकको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सोचे जति काम नभएकाले विद्यमान स्थितिमा परिवर्तन ल्याउनै पर्नेमा जोड दिए । स्रोतको सुनिश्चितता बिना अघिल्लो सरकारबाट प्रस्तुत बजेट आएकाले पनि काम गर्न सहज नभएको उल्लेख गर्दै उनले बजेटको समीक्षा गर्न सकिने तर काम गर्नै शैलीमा भने आमूल परिवर्तन ल्याउनुपर्ने बताए ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिवहरूसहितको बैठकमा प्रधानमन्त्री ओलीले बजेट र कार्यक्रमका विसङ्गतिलाई व्यवस्थापन गर्नुपरेको बताउँदै ११ हजार नक्कली आयोजना ल्याइएको र बहुवर्षीय खालका योजनामा यस वर्ष २० लाख मात्रै बजेट राख्ने खालका विकृति अन्त्य हुनुपर्ने उल्लेख गरे ।
‘हरेक मन्त्रालयले उत्पादन, कृषि, ऊर्जा वा सूचना प्रविधि आदिका क्षेत्रमा हामीले नयाँ क्रान्तिकारी काम के गर्न सक्छौं भनेर सोच्नुपर्ने भएको छ । राष्ट्रिय विकासको काम र देशको अर्थतन्त्र परिचालन गफका भरमा चल्दैन । प्रक्रियावादमा मात्रै नअल्झिऔं । हामीले जनताका अपेक्षाबमोजिम ठोस र परिणाममूलक काम गर्न सक्नुपर्छ । देशमा रोजगारी र आम्दानी बढाउने नीति लिनुपर्छ । काम नहुँदा निरीह भएर हेरेर मात्रै हुँदैन, अब के गर्ने भन्ने ठोस योजना मलाई चाहियो। हामी सरकारमा भएको उपादेयता हुनुपर्यो । हिम्मतिलो तरिकाले अगाडि बढौं ।’
प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘तल्लो वर्गसम्म कसरी लाभ दिन सकिन्छ ? बन्द भएका उद्योगहरू के गर्ने हो? हामीले चलाउन सक्दैनौं भने चलाउन सक्नेलाई चलाउन किन नदिने ? परिणाम नदिने र प्रभावकारी नहुने अनावश्यक संरचनाहरू किन राख्ने ?’