अब कसैले अनाथ भएँ भन्नु पर्दैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताएका छन् । सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा आज (मंगलबार) शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा योजनालाई व्यवस्थित ढङ्गले सञ्चालन र त्यसलाई पूर्णता दिन सरकारको ध्यान केन्द्रित भएको बताएका हुन् ।
‘अब कसैले अनाथ भएँ भन्नु पर्दैन, अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन, मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन’, प्रधानमन्त्रीले शुभकामनामा भनेका छन्, ‘त्यसका निम्ति राज्य छ र सरकार छ ।’
वर्तमान सरकार सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिँडेको जनताको सरकार भएको उल्लेख गर्दैै प्रधानमन्त्रीले देश र जनताप्रति निष्ठा र प्रतिबद्धता भएको यस सरकारले कसैलाई पनि एक्लो र असहाय हुन नदिने दाबी गरेका छन् ।