दुई एआईजी अनिवार्य अवकाशमा जाँदै
काठमाडौँ । नेपाल प्रहरीका दुई अतिरिक्त महानिरीक्षक (एआईजी) मंसिर महिनामा उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । एआईजीको ५६ वर्षे उमेरहदका कारण एआईजी केदार ढकाल र भीम ढकाल अनिवार्य अवकाशमा जान लागेका हुन्।
केदार ढकाल २२ मंसिरदेखि ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाने प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले जनाएको छ । त्यसको करिब एक सातापछि २८ मंसिरमा अर्का एआईजी भीम ढकाल पनि अनिवार्य अवकाशमा जाँदैछन् ।
प्रहरी नियमावली २०७१ अनुसार प्रहरीको ३० वर्षे सेवा अवधि भए पनि उनीहरू एआईजीको ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाने भएका हुन् । उनीहरूपछि एआईजी किरण बज्राचार्य पनि यही १४ पुसमा उमेर हदकै कारण अनिवार्य अवकाशमा जाँदैछिन् । उनीहरू सबै हालका आईजी वसन्तबहादुर कुँवरका ब्याची हुन् । उनीहरू २०५१ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।