अर्थतन्त्रलाई खलबल्याउन कम्बोडियाको अफवाह फैलाइयो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन कम्बोडियाको टेलिकममा आफ्नो लगानी रहेको भन्दै अफवाह फैलाइएको बताएका छन् ।
आज (शुक्रबार) काठमाडौं दरबारमार्गमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उनले कम्बोडियाको टेलिकममा लगानी गरेको बारे तथ्यसहित बहस गर्न चुनौती दिए । ‘अहिलेको सरकारलाई कसैले हल्लाउन सक्ने छैन, किनभने अहिले हामी कुनै कमिसनखोरी गर्नका लागि सरकारमा गएका होइनौं।’
ओलीले भने, ‘भ्रष्टाचार गर्न होइन, आफ्ना भर्ती गर्नका लागि होइन । म विभिन्न पार्टीका नेता साथीहरुलाई भन्न चाहान्छु। तपाईंहरु नेकपा एमालेतिर औँलो ठड्याएर बोलिरहनु भएको छ । के तपाईहरु साँच्चै बहस गर्न सक्नु हुन्छ नेकपा एमालेसँग ? तथ्यसहित बहस गर्न सक्नु हुन्छ । भन्दिए त भयो नि कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड डलर, स्विस बैंकमा यत्ती हजार ? तपाईहरु त हेर्न जानु हुन्न । यस्ता फाल्तु कुराहरु गरेर केही छैन । देशको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन र ध्वस्त बनाउनका लागि यस्ता कुराहरु भएका हुन् ।’