आफ्नै पार्टीका मन्त्रीमाथि आरोप लगाएका कांग्रेस सांसद बजगाईंले मागे माफी
काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एक क्यासिनोलाई इजाजत दिँदा ठूलो रकम घुस लिएको भनेर लगाएको आरोपप्रति माफी मागेका छन् । बजगाईंले सामाजिक सञ्जालमै लेखेर पाण्डेले क्यासिनोलाई इजाजत दिँदा मोटो रकम घुस लिएको आरोप लगाएका थिए । बजगाईं र पाण्डे दुवै कांग्रेसका सांसद हुन् ।
त्यसपछि मन्त्री पाण्डेले बजगाईंले आफूविरुद्ध बारम्बार कुप्रचारमा उत्रिएको भन्दै पार्टीमा उजुरी दिएका थिए। सोही क्रममा अनुशासन समितिले बजगाईंलाई बोलाएको थियो । त्यसको भोलिपल्ट बजगाईंले माफी मागेका हुन् । आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै उनले क्षमा मागेका हुन् ।
‘सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो । मैले लगाएको आरोपले उहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यसकारण उक्त लाञ्छित अभिव्यक्ति फिर्ता लिएको छु ! टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु,’ बजगाईंले ट्वीटरमा लेखेका छन् ।