अनलाइन सट्टेबाजीमा संलग्न १४ भारतीय पक्राउ
रुपन्देही । रुपन्देहीमा अनलाईन सट्टेबाजी (जुवा) मा संलग्न रहेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।उनीहरुलाई मंगलबार सिद्धार्थनगर नगरपालिका–३ सगुनी पथस्थित अस्फाक आलमको घरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा अवैध रुपमा अनलाईन गेममार्फत सञ्चालन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नविन पौडेलले बताए ।
‘वाट्सएप समेतको माध्यमबाट टाइगर ग्रुप, शिव ग्रुप, विनायक ग्रुप बनाइ क्रिकेट, फुटबल, हक्की, हर्स रेस लगायतका गेमहरु ल्डसै एक्सचेन्ज, अल प्यानल, अल प्यानल ७७७, स्याफरोन, ताज ००७, क्लासिकएक्ससीएच ९९, गोएक्ससीएच ९ लगायतका वेबसाइटहरुबाट अवैध रुपमा अनलाइन बेटिङ सञ्चालन गरिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरिएको हो,’ उनले भने ।
उनीहरुको साथबाट विभिन्न कम्पनीको मोबाइल सेट ४० थान, विभिन्न कम्पनीको ल्यापटप ३ थान र राउटर २ थान समेत बरामद गरिएको उनले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको हरियाणा प्रदेश पासकुल्ला जिल्ला पिन्जोर पोष्ट अफिस इन्दोर थानाका ३३ वर्षीय साहिल सोडा, उत्तराखण्ड रानिडिया जिल्ला ज्वालापुरका १८ वर्षीय श्याम गुप्ता, उत्तर प्रदेश देवरीया जिल्ला गौरीबजार पोष्टका २० वर्षीय रवि जैसवाल, हरियाणा प्रदेश फरिदावाद जिल्ला खडकेला थाना खिडि पोष्ट अफिसका २४ वर्षीय अनुराग सिंह, सोही स्थानका १९ वर्षीय नितेश वर्मा, गोरखपुर जिल्ला मोतिताम पोष्ट अफिस विष्णुपुरा थानाका २१ वर्षीय दिपक जैसवाल र गोरखपुर जिल्ला गाईन्ड पोष्ट अफिसका २२ वर्षीय रजत कुमार रहेका छन् ।
त्यस्तै उत्तर प्रदेश गोरखपुर जिल्ला एम्स पोष्ट अफिस कुडाघाट पोष्टका १८ वर्षीय लक्की जैसवाल, जिल्ला संतकविर पोष्ट अफिस खलिलवा थानाका २१ वर्षीय सतेन्द्र कुमार, सोही स्थानका २५ वर्षीय अवधेश कुमार, १८ वर्षीय मोहित कुमार, गोरखपुर जिल्ला क्यान्ट थाना मोहदिपर पोष्टका २० वर्षीय प्रियान्सु जैसवाल, सोही स्थानका १९ वर्षीय मनिष पासवान र उत्तर प्रदेश आजमगढ जिल्ला सदर थाना पोष्टका २५ वर्षीय शिवम सिंहलाई समेत प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकालाई रुपन्देही जिल्ला अदालतमा पेस गरिएकोमा अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान भइरहेको पौडेलले बताए ।