डीपी अर्यालले बोलाएको रास्वपा वैठक नबसी स्थगित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक अन्तिम समयमा स्थगित भएको छ । पार्टी सभापति रवि लामिछानेको रिहाइका लागि आन्दोलनको पक्षमा बहुमत नपुगेपछि बैठक स्थगित भएको हो ।
बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा धेरै नेताहरूले आन्दोलनको औचित्यमाथि प्रश्न उठाएपछि फेरि बस्ने भन्दै बैठक स्थगित भएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । लामिछाने पक्राउको विरोधमा भइरहेको प्रदर्शनप्रति रास्वपामा दुई धार देखिएको छ । मंगलबार उपसभापति डोलप्रसाद अर्यालले आकस्मिक रूपमा बैठक बोलाएका थिए । बैठकका एजेण्डाहरू सार्वजनिक गरिएको थिएन ।
रास्वपाका सभापति लामिछाने सहकारी ठगी प्रकरणमा थुनामा छन् । लामिछाने पक्राउ परे पनि रास्वपाले कार्यवाहक सभापति तोकेको छैन । सभापति लामिछानेलाई पोखरा र रुपन्देहीपछि काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी भएको छ। आफ्ना सभापतिमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपा आन्दोलित छ ।