इयूले इरानमाथिको प्रतिबन्धलाई थप फराकिलो पार्ने


२०८१ मङ्सिर ३ सोमबार ००:१३ बजे

काठमाडौं । युरोपेली सङ्घ (इयू) ले युक्रेनविरुद्ध रूसको युद्धमा समर्थन गरेको भन्दै इरानमाथिको प्रतिबन्धलाई सोमबार थप फराकिलो बनाएको छ । तेहरानद्वारा जारी कदममा २७ राष्ट्रको समूह इयूले क्षेप्यास्त्र र मानवरहित हवाई वाहन (यूएभी) बनाउन प्रयोग हुने सामग्रीको इयूबाट इरानमा निर्यात, स्थानान्तरण, आपूर्ति वा बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको छ ।

उसले प्रतिबन्धित व्यक्ति र संस्थाहरूको ‘स्वामित्व, सञ्चालन वा नियन्त्रण’ र बन्दरगाहसँग कुनै पनि लेनदेनमा प्रतिबन्ध लगाएको छ । इरानले ड्रोन, मिसाइल, हतियार सम्बन्धित टेक्नोलोजीलाई सहयोगी समूहमार्फत् रूसलाई आपूर्ति गर्ने गरेको आरोप इयूको छ । ‘यो प्रतिबन्धले अमिराबाद र अन्जालीजस्ता बन्दरगाह तथा जल यातायात मार्ग र स्टेसनमा पहुँच र सेवाहरूको प्रावधानलाई अवरूद्ध गर्नेछ’, ब्रसेल्समा इयू समूह राष्ट्रका विदेश मन्त्रीहरूको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै इयूले जानकारी गराएको छ । क्यास्पियन सागरमा रहेका दुई इरानी बन्दरगाह अमिराबाद र अन्जाली हुन् ।

इयूले प्रतिबन्धलाई खुकुलो पार्न सकिने अवस्थाका बारेमा भनेको छ, ‘सामुद्रिक सुरक्षाको कारणले गर्दा केही निश्चित परिस्थितिमा आवश्यक पर्ने जहाजहरूलाई अझै पनि सहायता प्रदान गर्न सकिन्छ ।’ समूहले इरानको सरकारी सामुदिूक ढुवानी कम्पनी आइआरआईएसएलका निर्देशक मोहम्मद रेजा खियाबानी र क्यास्पियन सागरमा हतियार ओसारपसार गरेको आरोप लागेका तीन रूसी पानीजहाज कम्पनीविरुद्ध पनि प्रतिबन्धात्मक कदम चालेको छ ।

ब्रसेल्सले यसअघि नै रूसको युद्धमा सहयोग गरेको आरोप लागेका प्रमुख इरानी अधिकारी र एयरलाइन्सलगायत संस्थामाथि प्रतिबन्ध लगाएको थियो । तेहरानले भने किएभविरुद्ध प्रयोग गर्न मस्कोमा क्षेप्यास्त्र वा ड्रोन स्थानान्तरण गरेको भन्ने पश्चिमाहरूको आरोपलाई अस्वीकार गर्दै आएको छ । इयूले नयाँ प्रतिबन्धको घोषणा गर्नुअघि इरानका विदेशमन्त्री अब्बास अरागचीले आफ्नो पानीजहाज मार्गलाई निशाना बनाउन इयूले ‘बहाना’ को प्रयोग गरिरहेको बताएका थिए ।

‘यस्तो व्यवहारको कुनै कानुनी, तार्किक वा नैतिक आधार छैन । यसले केवल इरानको जलमार्गलाई जसरी पनि रोक्न खोजेको कुरालाई प्रष्ट पार्छ’, अरागचीले एक्समा लेखेका छन् । ‘आवागमनको स्वतन्त्रता समुद्री कानूनको आधारभूत सिद्धान्त हो । कसैले छानेर यस्तो प्रतिबन्ध लगाउनु अदूरदर्शिता हुनेछ ।’ सन् २०१८ मा इरान र विश्व शक्तिराष्ट्रबीच भएको ऐतिहासिक आणविक सम्झौताबाट वासिङ्टन एकतर्फी रुपमा पछि हटेपछि इरानमा व्यापक अमेरिकी प्रतिबन्धहरू लगाइएको छ । सोमबार इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बगाईले तेहरानले कसरी जवाफ दिने भन्नेबारे छिट्टै निर्णय गर्ने बताएका थिए । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७