रविलाई भोलि मात्रै पोखरा पठाइने, रुपन्देहीमा तीन दिनमा २३ घण्टा बयान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको रुपन्देहीमा बयान सकिए पनि आज उनलाई पोखरा नपठाइने भएको छ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा लामिछानेसँग ढिलासम्म बयान लिएर सकिएको छ ।
कात्तिक २७ गते पोखराबाट भैरहवा लगिएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीमा तीन दिनमा २३ घण्टा मौखिक र लिखित बयान लिइएको हो । लामिछानेसँग पहिलो दिन ३ घण्टा ३५ मिनेट, दोस्रो दिन १० घण्टा र तेस्रो दिन पनि करिब १० घण्टा बयान लिइएको थियो । बयानका क्रममा लामिछानेलाई ७० वटा प्रश्न सोधिएको बताइएको छ।
तर लामिछानेले आफू सहकारी ठगी काण्डमा संलग्न नभएको भन्दै इन्कारी बयान दिएको बताइएको छ । बयान लिने काम ढिला सकिएपछि लामिछानेलाई भोलि बिहान मात्र पोखरा पठाइने प्रहरीले जनाएको छ । सबै प्रश्नमा उनले आफूलाई लगाइएको आरोपमा कुनै सत्यता नभएको भन्दै अस्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकृतले जनाएका छन् । उनी आज रुपन्देही प्रहरी हिरासतमै रहने भएका छन् ।