नेपालले भोलि एक दिन ४० मेगावाट विजुली बंगलादेश निर्यात गर्दै
काठमाडौँ । नेपाललाई बंगलादेशमा बिजुली निर्यातको बाटो खुलेको छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो । भारतबाट स्वीकृति आएसँगै भोलि (शुक्रबार) बंगलादेशलाई बिजुली बिक्री गर्ने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।
नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने सम्झौतामा छ । सोही अनुसार नेपालले यस वर्ष शुक्रबार एक दिन मात्रै बंगलादेशलाई बिजुली बेच्दैछ । त्यसपछि बंगलादेशलाई बिजुली बेच्न अर्को वर्ष कुर्नु पर्नेछ ।
नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म मात्रै बिजुली बेच्न पाउनेछ । बंगलादेशलाई बिजुली विक्री गर्दा नेपाललाई प्रतिमहिना करिब ३३ करोड आम्दानी हुनेछ । कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट बिजुली निर्यात हुने प्राधिकरणले जनाएको छ । प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जनाएको छ ।
गत असोज १७ मै नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौता भए पनि भारतको स्वीकृति नआएकाले ढिलाई भएको थियो । सम्झौता हुँदा यसैवर्ष एक दिन भए पनि बिजुली बिक्री गर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका थिए । सोहिअनुसार बिजुली बिक्री गर्न लागेको हो । ६ वर्षको गृहकार्यपछि भएको नेपाल र बंगलादेश विद्युत् बिक्री सम्झौता(पीएसए) कार्यान्वयनमा आउने भएको छ ।
प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायककम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई बिक्री गर्ने जनाएको छ । नेपालले डलरमा विद्युत् बिक्री गर्न लागेको पहिलो पटक हो । नेपालले हाल भारतसँग भने भारतीय रुपैयाँमै कारोबार गर्दै आएको छ ।
नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश निर्यात हुनेछ । त्यसका लागि विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ । त्यसैले ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नु पर्नेछ ।