उपनिर्वाचन : रास्वपाबाट कीर्तिपुरको मेयरमा जयराम कार्की उम्मेदवार सिफारिस


२०८१ कार्तिक २९ बिहीबार ०२:१२ बजे

काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा कीर्तिपुर नगरपालिकामा जयराम कार्कीको मात्रै उम्मेदवारी परेको छ । रास्वपाले उम्मेदवार बन्न इच्छुकलाई आवेदन आह्वान गरेकोमा कीर्तिपुर नगरपालिका प्रमुखका लागि कार्कीको मात्रै उम्मेदवारी परेको हो ।

उनको मात्रै आवेदन परेपछि एकल नामलाई केन्द्रमा सिफारिस गरिएको जनाइएको छ । यद्यपि यसको औपचारिक घोषणा बाँकी नै छ । कार्की रास्वपाको कीर्तिपुर नगर कमिटी सभापति समेत हुन् । उनी नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा काठमाडौं जिल्ला सदस्य निर्वाचित भएका थिए । कांग्रेस छोडेर उनी रास्वपामा सक्रिय भएका हुन् ।उनले टौदह पर्यटन समिति अध्यक्ष र नौमुले खानेपानी समितिको अध्यक्ष समेत भएर काम गरेका छन् ।

नेपाली कांग्रेसबाट २०७९ वैशाखको स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुख पदमा उम्मेदवार भएका राजकुमार नकर्मीको २०८१ साउनमा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । कीर्तिपुरको मेयरमा नेकपा (एमाले) ले सुरेन्द्र मानन्धरलाई, नेकपा (माओवादी केन्द्र) ले शिवशरण महर्जनलाई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जनलाई उम्मेदवार उठाउने निर्णय गरिसकेका छन् ।

कांग्रेसले उम्मेदवार टुंगो लगाउन बाँकी छ । उम्मेदवारका लागि कांग्रेसबाट ११ जनाको नाम सिफारिस भएको छ । कांग्रेसमा आकांक्षी धेरै हुँदा उम्मेदवार टुंगो लगाउन सकस परेको छ । कांग्रेस नगर सभापति कृष्णमान डंगोल, बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम बागमती प्रदेश कार्यसमितिमा सिफारिस भएको हो ।

जसमध्ये डंगोल कांग्रेस कीर्तिपुर नगर सभापति हुन् भने जमुना पूर्व मेयर राजकुमारकी श्रीमती हुन् । कांग्रेसका एक नेताले दिएको जानकारीअनुसार आकांक्षी धेरै हुँदा उम्मेदवार छान्न समय लागेको हो । मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेकोले त्यसअघि नै उम्मेदवार तय गर्ने तयारीमा कांग्रेस छ ।

११ जना आकांक्षीका नाम सिफारिस भए पनि नगर सभापति डंगोल र नेता हिमाल कार्कीमध्ये एक जना उम्मेदवार हुने पार्टीभित्र चर्चा छ । नगर सभापति डंगोलले आफूलाई न्याय गरिनुपर्ने बताइरहेका छन् भने कार्की पनि उम्मेदवार हुन जोडबल गरिरहेका छन् । डंगोल र कार्की दुवै कांग्रेस संस्थापन इतरका मानिन्छन् । डंगोल नेता प्रकाशमान सिंह र कार्की राजेन्द्र केसी (राजन) निकट छन् । राजन पनि प्रकाशमाननिकट नै मानिन्छन् । गत मंगलबार कीर्तिपुरमा कांग्रेसले कार्यक्रम राखेको थियो । सो कार्यक्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पुगेका थिए । महामन्त्री शर्माले सबैसँग छलफल गरेपछि उम्मेदवारको टुंगो गरिने बताएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७