प्रधानमन्त्रीको चीन भ्रमण : पोखरा विमानस्थलको होला ऋण मिनाहा ?


२०८१ कार्तिक २९ बिहीबार २३:२७ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा नेपालले पोखरा क्षेत्रीय विमानस्थल बनाउँदा लिइएको २२ अर्ब ऋण मिनाहाको प्रस्ताव गर्ने भएको छ । प्रधानमन्त्रीको भ्रमणका बेला यसअघि दुई देशबीच भएका सम्झौता तथा सहमति कार्यान्वयनको विषयमा समेत छलफल हुनेछ । मंसिरमा हुने भ्रमणको परराष्ट्र मन्त्रालयले तयारी थालेको छ ।

अर्थ मन्त्रालयले डेढ महिनाअघि चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनको टोली समक्ष पनि प्रस्ताव गरेको थियो । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमणका बेला पनि सरकारले ऋण मिनाहाको विषय चिनियाँ नेतृत्व समक्ष उठाएको थियो । यस पटक पनि ऋण मिनाहासँगै विमानस्थलको व्यावसायिक सञ्चालनको विषय उठाइने सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताएका छन् । 

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा प्रधानमन्त्रीको भ्रमणअघि नै बेइजिङ जाने तय भइसकेको छ । चिनिया पक्षसँग निरन्तर संवादमा रहेका नेपाल सरकारका उच्च अधिकारीहरूका अनुसार जनस्तरदेखि सरकारी तहबाट समेत चीनका विभिन्न तहका प्रतिनिधिसँग पोखरा विमानस्थलको बारेमा कुरा भएको छ ।

चीनले पाँच वर्षअघि नै प्रतिबद्धता जनाएको तर सहयोग परिचालन नभएको करिब ३९ अर्ब अनुदान रकमबाटै ऋण मोचन गर्ने विकल्पमाथि समेत छलफल भइरहेको स्रोत बताउँछ । हालै पोखरा पुगेका चिनिया राजदूत समक्ष समेत स्थानीय प्रतिनिधिले विमानस्थल सञ्चालन र अनुदानका बारेमा आग्रह गरेका थिए ।

पोखरा विमानस्थलमा चीनले हालसम्म केही चार्टर्ड उडान भरेको छ । त्यहाँ चीनबाट नियमित उडानको लागि समेत आग्रह गरिएको छ । चीनले ऋणलाई अनुदानमा परिणत गर्ने नीति नरहेका कारण नेपालको प्रस्तावलाई स्वीकार गरिसकेको छैन । यद्यपि यसअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको चीन भ्रमणका बेला समेत योसहित विभिन्न विकास आयोजनाहरूको कामका बारेमा विस्तृतमा छलफल भएको थियो ।

यता कूटनीतिज्ञहरुको भने चीन सरकारसँग ऋण मिनाहाको विषय राजनीतिक भाषणबाजी गरेर हचुवाका भरमा गर्न नहुने धारणा राखेका छन् । परराष्ट्रविद जयराज आचार्य नेपाल र चीन सरकारबीच उपल्लो तहमा छलफल गर्ने विषय भएकाले प्रधानमन्त्रीको भ्रमणका बेला यो विषय उठान हुनु सही भए पनि भाषणबाजीको विषय बनाउन नहुने बताउँछन्। 

उनले ऋण मिनाहाका लागि नेपाल सरकारले समेत विकल्पहरु दिनुपर्ने सुझाव छ । यसका लागि निश्चित समयसम्म चिनियाँ जहाजका लागि ल्यान्डिङ तथा पार्किङको निःशुल्क सुविधा दिन तथा चिनियाँ पर्यटक तथा व्यवसायीलाई आकषिर्त गर्न सुझाएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि नेपालले चीनको एक्जिम बैंकसँग २०७२ चैत ८ मा ऋण सम्झौता गरेको थियो ।

२७ पुस २०७३ बाट निर्माण सुरु भई १७ पुस ०७९ मा उद्घाटन गरिएको थियो । तर, लामो समयदेखि विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आउन सकेको छैन । विमानस्थलमा व्यावसायिक उडान हुन नसके पनि नेपाल सरकारले मासिक व्याज नै ९५ करोड ४५ लाख तिर्नुपर्छ । २४ खर्बभन्दा धेरै सार्वजनिक ऋणमा रहेको सरकारले पोखरा विमानस्थलका लागि लिएको ऋण मिनाहा हुन सकेमा दायित्व कम हुने बताउँदै आएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७