बाढी–पहिरोपीडितका लागि कर्मचारी महासंघको पौने ८ लाखको चेक


२०८१ कार्तिक २९ बिहीबार २२:४२ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले बाढीपहिरो पीडितका लागि पौने ८ लाख बढी सहयोग हस्तान्तरण गरेको छ ।

महासंघले आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठ, महासचिव प्रेम खनाल, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टलगायत महासंघ र संगठनका पदाधिकारीले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका छन् ।

यो सहयोग संकलनमा नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनको महत्वपूर्ण भूमिका रहेको महासंघले जानकारी गराएको छ । सहयोग ग्रहण गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रसेवासँगै जनताले भोग्नुपरेको विपत्तिमा कर्मचारीहरूले सहयोग संकलन गरेकामा धन्यवाद दिए ।

प्राकृतिक विपत्तिले सिर्जना गरेको संकट समाधानका लागि सरकारमा हुँदा पनि नहुँदा पनि आफ्नो पार्टी निरन्तर अग्रमोर्चामा रहेर काम गरेको उल्लेख गर्दै उनले पार्टीनिकट शुभेच्छुक संगठनहरूले पनि यसमा योगदान गर्दा पार्टीलाई थप ऊर्जा प्राप्त हुने बताए ।  यस पटकको बाढीपहिरोमा आफ्नो पार्टीले सबैभन्दा पहिले पहलकदमी लिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रभावितस्थलमा निरन्तर खटेर उद्धार, राहत र पुनर्स्थापनामा लाग्ने सबैलाई धन्यवाद दिए ।

राहत र पुनर्स्थापनाका कामले अझै गति नलिएको उल्लेख गर्दै उनले दुई वर्षअघिका भूकम्पपीडितदेखि अहिलेका बाढीपहिरो पीडित सबैलाई पुरानै अवस्थामा फर्काउन सबै लाग्नुपर्ने र त्यसमा कर्मचारीहरूले आफ्नो कार्यक्षेत्रबाट बढी योगदान गर्नुपर्ने बताएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७