रुपन्देहीमा आज पनि रवि लामिछानेको बयान, काठमाडौं ल्याउने तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको रूपन्देहीमा आज (बुधबार) पनि बयान लिइने भएको छ । मंगलबार करिब पाँच घण्टासम्म उनको बयान लिइएको थियो । आज बिहान १० बजेदेखि सरकारी वकिलको कार्यालयमा पुनः बयान सुरु हुने रुपन्देही प्रहरीले जनाएको छ । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा उनको बयान भइरहेको छ । लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ ।
मंगलबारको बयानमा लामिछानेले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । आफूमाथि लागेको आरोप अस्वीकार गर्दै लामिछानेले यो विषय जीबी राईलाई थाहा भएको र आफूलाई राजीतिक पूर्वाग्राहले फसाइएको बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । भैरहवापछि स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन अनुसन्धानका लागि काठमाडौंमा बयान लिने तयारी भएको छ ।
प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ । लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलो पटक कात्तिक ४ मा ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रो पटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।
लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ। प्रहरीले सहकारी ठगी मुद्दामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्दामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।