ट्रम्प र पुटिनबीच फोनमा कुराकानी भएको भन्ने हल्ला अफवाह मात्र : क्रेमलिन 


२०८१ कार्तिक २६ सोमबार ०१:५९ बजे

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन द्वन्द्वबारे गत साता फोनमा कुराकानी भएको भन्ने अमेरिकी सञ्चारमाध्यममा आएको समाचारको क्रेमलिनले सोमबार खण्डन गरेको छ ।

ट्रम्पले बिहीबार पुटिनसँग फोनमा कुरा गरेर द्वन्द्व नभड्काउन आग्रह गरेको ‘द वासिङ्टन पोस्ट’ मा उल्लेख गरिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वासिङ्टन पोस्टमा प्रकाशित समाचार ‘गलत सूचना मात्र भएको’ बताएका छन् । ‘द पोस्ट’ का अनुसार ट्रम्पले उक्त फोनवार्तामा पुटिनलाई युरोपमा वासिङ्टनको ठूलो सैन्य उपस्थिति रहेको स्मरण गराएका थिए । 

ट्रम्पले युक्रेनको युद्ध चाँडै समाधान गर्ने विषयमा थप कुराकानी गर्ने इच्छा व्यक्त गरेको अमेरिकी पत्रिकासँगको कुराकानीमा धेरैले बताएका उल्लेख गरिएको छ । चुनाव प्रचारका क्रममा रिपब्लिकनले केही घण्टाभित्रै युद्ध अन्त्य गर्न सक्ने र पुटिनसँग सीधै कुरा गर्ने सङ्केत दिएका थिए । 

ट्रम्पले आफूले कसरी शान्ति सम्झौता गर्न चाहेको र कुन शर्तमा प्रस्ताव गर्न लागेको भन्ने बारे केही बताएका छैनन् । रूसी राष्ट्रपतिले युक्रेनलाई शान्ति वार्ताको पूर्वशर्तका रूपमा आफ्नो पूर्वी र दक्षिणी क्षेत्रका भूभागहरू फिर्ता गर्न माग गरेका छन् । 

‘द पोस्ट’ का अनुसार बिहीबारको फोन वार्तासँग परिचित व्यक्तिहरूले ट्रम्पले पुटिनसँग भूमिको प्रश्न छोटो समयका लागि उठाएको बताएका छन् । ट्रम्प निर्वाचित भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई कुनै पनि प्रकारको सहुलियत दिन नहुने चेतावनी दिएका थिए । उनले भने, ‘मस्कोको अन्य कुनै पनि कट्टरपन्थी मागलाई स्वीकार गर्नु वा जमिन सुम्पनुले क्रेमलिनलाई हौसला दिनेछ र थप आक्रामकता निम्त्याउनेछ ।’ रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७